निर्माणजन्य प्रदुषणले मानव स्वास्थ्यमा पार्ने असरका सन्दर्भमा विद्यार्थीहरुलाई सचेतना
भञ्ज्याङ न्यूज

निर्माण प्रदुषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरुको श्वासप्रश्वास स्वास्थ्य विषयक सचेतना मुलक कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँले दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सचेतना मुलक प्रशिक्षण गरेको हो ।
काठमाडौंको मनमोहन मेमोरियल इनि्स्टच्यूट आफ हेल्थ र्साईन्सेसमा एम.पि.एच दोस्रो वर्षमा अध्यनरत छात्रा गंगा खनालले पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा तनहुँको विभिन्न क्षेत्रमा भईरहेको वायु प्रदुषण, यसले मानव श्वासप्रश्वासमा पर्ने नकारात्मक प्रभाव र यसबाट बच्ने उपायहरूबारे विद्यार्थीहरुलाई सहजिकरण गरेकी थिइन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँ र युथ इनोभेषन नेटवर्क तनहुँको सहकार्यमा सञ्चालित सो कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले शुभारम्भ गर्दै सबै धनहरु मध्ये स्वास्थ्य मुख्य धन भएकाले प्रदुषणबाट बच्ने उपायका बारेमा जानकारी लिनु महत्वपूर्ण भएको बताए ।
शिक्षा, सामाजिक व्यवहार लगायत धनहरु हुन्छन् ति मध्ये सबैभन्दा महत्वपूर्ण स्वास्थ भएको हुँदा आफ्नो स्वास्थ्य प्रति हामी सबै सचेत बन्नुपर्ने प्रा.डा. गौतमले जोड दिएका थिए ।

बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा जुनियर रेडक्रस सर्कलका संरक्षक राजेन्द्र खनालको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँका सभापति कृष्णचन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद मिश्रले लगायतले विकास निर्माणको कामले धेरै धुलो, धुवा तथा ध्वानी प्रदुषण भईरहने हुँदा यसबाट जोगिनु पर्ने र यस्ता कार्यक्रमले सचेतना जगाउने विश्वास व्यक्त गरे ।










