व्यास सहकारीको भादगाउँमा सदस्य सेवा केन्द्र
भञ्ज्याङ न्यूज

तनहुँको व्यास-३ दमौलीमा मुख्य कार्यालय रहेको व्यास बचत तथा ऋण सहकारी संस्थाले व्यास-१ भादगाउँमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शुक्रबारदेखि सेवा केन्द्र शुभारम्भ गरेको हो ।
सदस्य सेवा केन्द्रको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यास सहकारीले सदस्यतामैत्री कार्य गरेको भन्दै सहकारीहरु उत्पादन र बजारीकरणमा जोडिदै र्सवसाधारणको आर्थिक गतिविधिमा टेवा पुर्याउन जोड दिनुपर्ने बताए ।
व्यास सहकारी जिल्लाकै उत्कृष्ट कार्य गरी अगाडि बढिरहेको बताउँदै उनले व्यास सहकारीको मर्म अनुसार चलेको र अब थप व्यवस्थित र प्रविधिमैत्री बन्दै सेवा सुविधालाई विस्तार गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य केशबादुर सुनार, व्यास-१ का वडाध्यक्ष खरसिं दरै, सत्यवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्यचन्द्र हड्खले, मिलन टोल विकास संस्थाका अध्यक्ष भक्त न्यौपाने लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त सदस्य सेवा केन्द्रबाट बचत संकलन, ऋण प्रवाह लगायतका सेवा प्रदान गरिने सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले बताए । मुख्य कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु यस केन्द्रबाट समेत दिने तयारी भएको र शेयर सदस्यको माग तथा आवश्यकाताका आधारमा सेवा केन्द्र स्थापना गरेको उनले जानकारी गराए ।

भादगाउँ क्षेत्रमा मात्रै व्यासका २ सय बढि शेयर सदस्य रहेको बताइएको छ । व्यास नगरपालिकाको बोर्ड बैठकले सहकारीको सदस्य सेवा केन्द्र स्थापनाका लागि अनुमति दिएको थियो ।
यस्तै, सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले चालु आर्थिक वर्षा शेयर सदस्य, पुँजी र कारोवार वृद्धि गर्ने रणनीति लिइएको बताए । सहकारीले ७०४ जना सदस्य वृद्धि गरी २ हजार ४६९ सदस्य पुर्याउने लक्ष्य लिएको र यसका लागि समिति, उपसमिति मार्फ विस्तार अभियान सञ्चालन गरिने उनले बताए ।
एक सदस्यले अर्को एक सदस्य थप गर्ने अभियान सञ्चालन तथा विपन्न, एकल, उद्यमी, दैनिक ज्यालादारी, व्यवसायीलाई प्राथमिकताका साथ सहकारीमा आवद्ध गरी शेयर सदस्य बन्न प्रोत्साहित गर्ने रणनीति सहकारीले बनाएको छ ।










