सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै

मुस्ताङ : दशैंलाई लक्षित गरेर बजार पठाउने तयारी गरिएको मुस्ताङको स्याउ यस वर्ष बाढीपहिरो र सडक अवरोधका कारण बोटमै थन्किएको छ । कालीगण्डकी नदीको कटान तथा अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि स्याउ ढुवानी प्रभावित भएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका आङग्या गुरुङले असोजको दोस्रो सातादेखि टिपेर बजार पठाउने तयारी गरेको छिटो पाक्ने उच्च घनत्वको स्याउ अझै बोटमै रहेको बताए । दशैं कात्तिकमा परेकाले स्थानीय प्रजातिको स्याउ असोजको दोस्रो र तेस्रो सातामा बजार पठाउने तयारीमा रहेका किसान सडक अवरुद्ध भएपछि समस्यामा परेका छन् ।
घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान कर्म गुरुङले बजार पठाउन प्याकिङ गरेर राखेको स्याउसमेत स्टोरमै थन्किएको बताए। सडक सहज नहुँदा बगैँचाबाट बजारसम्म स्याउ पु¥याउने अवस्था नरहेको उनको भनाइ छ ।
कृषक ङवाङ गुरुङका अनुसार सडक तथा पुल मर्मतमा समय लाग्दा धेरै किसानले स्याउ टिप्ने कामसमेत रोकेका छन् । ‘धेरै कृषकले टिप्दै गरेको स्याउ रोकेका छन्’, उनले भने, ‘बाटो मर्मतमा ढिलाइ भए स्याउ कृषकलाई ठूलो नोक्सानी हुन्छ ।’ कालीगण्डकी करिडोरअन्तर्गतको सडक र पुलमा भएको क्षति मर्मत गर्न करिब १० दिन लाग्ने अनुमान गरिएको छ । वैकल्पिक मार्गबाट ठूलो परिमाणमा स्याउ ढुवानी गर्न कठिन हुने भएकाले किसान सडक खुल्ने प्रतीक्षामा छन् ।
सडक खुले ९० प्रतिशत स्याउ बजारमा
कृषि तथा पशु विकास कार्यालय मुस्ताङले सडक सञ्चालनमा आए असोजको अन्तिम सातासम्म जिल्लाको करिब ९० प्रतिशत स्याउ बजारमा पठाउन सकिने जनाएको छ ।
कार्यालयकी निमित्त प्रमुख बबिता नेपालीका अनुसार हालसम्म उच्च घनत्वसहित करिब २० प्रतिशत स्याउ मात्र बजारमा पुगेको अनुमान छ । वर्षाका कारण विवरण संकलनमा समस्या भएकाले यकिन तथ्यांक आउन बाँकी रहेको उनले बताए ।
‘चिसो मौसम भएकाले पाकेको स्याउ यो महिनाभित्र बजारमा लैजाँदा राम्रो हुन्छ’, नेपालीले भने, ‘बगैँचा निरीक्षणमा पुगेका प्राविधिकले सडकको अवस्थाबारे जानकारी गराइरहनुभएको छ ।’
उच्च घनत्वको पाकिसकेको स्याउ हवाई मार्गबाट ढुवानी गर्दा लागत बढ्ने भएकाले किसानले सडक सञ्चालन भएपछि मात्र ठूलो परिमाणमा बजार पठाउने तयारी गरेका छन् । मुस्ताङमा उत्पादित स्याउ सामान्यतया जोमसोम–बेनी सडक हुँदै म्याग्दी, बागलुङ, पर्वत र कास्की भएर देशका विभिन्न सहरमा पुग्ने गर्छ । तर यसपटक बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको हो ।
सडक अवरुद्ध भएपछि असोज १० गतेअघि बजारमा पुगेका स्याउ अहिले बिक्री भइरहेको छ । नयाँ उत्पादनको आपूर्ति प्रभावित हुँदा बजारमा विस्तारै स्याउको अभाव देखिन थालेको र व्यापारीले मूल्य बढाउन थालेको किसान तथा व्यवसायीले बताएका छन्।
८३० हेक्टरमा स्याउ खेती
मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ खेती हुँदै आएको छ । थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको छ। दशैंअघि मुख्य रूपमा थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रबाट स्याउ बजारमा जाने गर्छ ।
कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लामा करिब ८३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। त्यसमध्ये ५६६ हेक्टरमा लगाइएको स्थानीय तथा अन्य प्रजातिको स्याउबाट चालु वर्ष ६ हजार ७८ मेट्रिक टन उत्पादन हुने लक्ष्य राखिएको छ । औसत प्रतिहेक्टर १० दशमलव ७४ मेट्रिक टन उत्पादन हुने अनुमान छ ।
त्यस्तै, उच्च घनत्वको स्याउ खेती ६५ हेक्टरमा विस्तार भएको छ। यसबाट पनि उल्लेख्य उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष ८३७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा ६ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। स्थानीय स्याउबाट ७८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । उच्च घनत्वको स्याउबाट ३१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको कार्यालयको तथ्यांक छ ।
जिल्ला समन्वय समिति, पाँचवटै स्थानीय तह, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ जोन परियोजनाले किसानलाई विभिन्न सहयोग गर्दै आएका छन्। कार्टुनसहित प्याकिङ गरिएको स्याउलाई उचित व्यवस्थापन गरे करिब एक सातासम्म स्टोर गरेर राख्न सकिने व्यवस्था पनि रहेको छ ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सडक सञ्जालको मर्मतलाई तीव्रता दिँदै कृषि उत्पादनको ढुवानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। सडक समयमै सञ्चालनमा नआए बोटमै पाकिरहेको स्याउ खेर जाने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।










