भिमादमा “किसानसंग नेकपा एमाले” अभियान, असोज १० गते शक्ति प्रदर्शन गर्ने
राजकुमार आले

नेकपा एमाले भिमाद नगर कमिटीले ‘किसानसंग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेकपा एमाले संधै पौरखी किसानहरुको हितमा सक्रिय रहदै आएकोमा यसपाली अभियान नै लिएर अगाडी बढेको नगर कमिटीले जनाएको छ । आगामी असोज १० गते भिमादमा हुने एमालेको वृहृत कार्यकर्ता भेलालाई लक्षित गरी बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका विषयमा जानकारी गराइएको थियो ।
नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान थापाले एमाले संधै जनतासंगै रहेको बताउँदै खेती भित्र्याउने समयलाई लक्षित गरी किसानसंग कार्यक्रम तय गरिएको बताए । किसानले उत्पादन गरेको कृषि उपजहरु घरसम्म लान नसकेको अवस्थामा एमालेका युवाशक्ति परिचालन गरी सहयोग पुर्याउने अध्यक्ष थापाले बताए ।
‘पाकेको खेती स्याहार्न अप्ठ्यारो परेका घरपरिवार पहिचान गरी हाम्रो टिमले अन्नबाली घरसम्म पुर्याउन श्रमदान गर्नेछ’, उनले भने, ‘विशेष अपाङ्ग, अशक्त घरपरिवारलाई प्राथमिकता दिनेछौं। यो शुरुवात हो । विस्तारै किसानले उत्पादन गरेका बस्तुहरुको बजारीकरण र उत्पादनमा समेत सहयोग गर्ने हाम्रो योजना छ ।’
भिमाद नगरपालिका-९ का वडाध्यक्ष समेत रहेका थापाले यो कार्यक्रम चर्चा कमाउनका लागि नभएर आफुहरुले गरेर देखाउने समेत दाबी गरे । नगर कमिटी अध्यक्ष थापाले गत असोज २ गते बसेको नगर कमिटीको बैठकले भिमाद नगरपालिका भित्रका पर्यटकीयस्थलहरुको महिनामा एक पटक सरसफाई गर्ने अभियान समेत सञ्चालन गर्ने भएको छ ।
सिद्ध गुफाबाट सञ्चालन गरिने सरसफाई अभियान सञ्चालन गरिने र यस अभियान अन्तरगत भिमाद नगर कमिटीमा आवद्ध एक हजार ५० सदस्यहरुको ब्लड ग्रुप छुट्याउने र अभिलेख राख्ने, युवा नेता तथा कार्यकताहरुलाई क्षमता विकास र सीपमुलक तालिम दिने, जनवादी संठगनहरुको भेला १५ गतेभित्र सम्पन्न गर्ने लगायतको निर्णय गरिएको बताइएको छ ।
यस्तै, असोज १० गते भिमाद नगरकमिटीले शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी विभाजनको असर देखिन नदिन सबै तहका पार्टी नेता, कार्यकताहरु उतार्ने तयारी गरिएको अध्यक्ष थापाले बताए । उनले भने ‘हामी बाह्र सयदेखि पन्ध्र सयसम्म पार्टी कार्यकर्ता उतार्ने छौँ, पार्टी चिरा परे पनि भिमादमा कुनै असर नपरेको प्रमाणित गर्नेछौँ ।’ कोरोनाको संक्रमण जोखिम अझै पनि रहेकाले स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पुरा गरेर सभा गर्ने उनले बताए ।
उक्त सभालाई एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, पुर्व खेलकुदमन्त्री जगत् विश्वकर्मा, संविधान सभा सदस्य टुकराज सिग्देल, प्रतिनिधि सभा सदस्य तथा पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।










