बन्दिपुर र गोरखा बारपाकको पर्यटन प्रवर्द्धनका लागि मितेरी साइनो
भञ्ज्याङ समाचारदाता/बन्दिपुर
तनहुँको पर्यटकीय नगरी बन्दिपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रवर्द्धनका लागि मितेरी साइनो गाँसेका छन् । बन्दिपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुबै ठाउँका पर्यटन व्यवसायी, होटल व्यवसायी एकजुट भएका हुन् ।
बन्दिपुरमा सोमबार आयोजित पर्यटन व्यवसायी, होटल व्यवसायीहरूको छलफलले दुबै ठाउँमा पर्यटक भित्र्याउनका लागि सहकार्य गर्ने सहमति गरिएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।
‘बन्दिपुर र बारपाकलाई जोड्न मितेरी साइनो गाँस्ने निर्णय छ’, उनले भने, ‘बन्दिपुर तनहुँको पुरानो सदरमुकाम पनि रहेको र यसको ऐतिहासिक महत्व पनि छ, बारपाक पनि एउटा पर्यटकीय गाउँ हो, दुवै ठाउँलाई जोड्ने उद्देश्यले प्रचारप्रसार गर्ने, मितेरी साइनो गाँस्ने लगायतका विषयमा सहमति गरेका छौं ।’
बन्दिपुरस्थित पर्यटन व्यवसायी, होटल व्यवसायी, बारपाकाका वडाध्यक्ष, पर्यटन व्यवसायी, होटल व्यवसायीहरुको सहभागितामा भएको छलफलले पर्यटक तथा पाहुनाहरु आदानप्रदान गरी पर्यटन प्रवर्द्धन गर्ने सहमति गरेका छन् ।
बन्दिपुर आन्तरिकमात्रै नभई बाह्य पर्यटकको पनि गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ । १८औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दिपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।
बन्दीपुर बजारमा भएका पुरानो घरहरूको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएको छ । बारपाक प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो । बारपाक समुन्द्री सतहबाट दुइ हजार मिटरमा अवस्थित छ । २०७२ सालको भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा अहिले घरहरू पुनर्निर्माण गरिसकिएको छ ।
त्यस्तै, बन्दिपुर गाउँपालिकाले बन्दिपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दिपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क संकलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दिपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
होमस्टे र होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । ‘मुकुन्देश्वरी पदमार्ग निर्माणलाई निरन्तरता दिँदै हाफ म्याराथन र साइक्लिङजस्ता प्रतियोगितालाई पनि निरन्तरता दिन्छौ’, उनले भने, ‘पालिकाभित्र रहेका पर्यटकीय गाउँ प्राथामिकताको आधारमा नमूनाको रूपमा विकास गर्दै लगिने र पर्यटनका माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने योजना पनि अगाडि ल्याएका छौं ।’
गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित रहेकोले बन्दिपुर मातहतमा रहेका छ वटै वडामा पर्यटकीयस्थलको दीगो विकास गरी संरक्षण एवं प्रवर्द्धन गर्ने योजना रहेको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले पर्यटकीय केन्द्र निर्माण गर्नुका साथै पर्यटन ऐन बनाई नियमन गर्ने नीति पारित गरेको छ । बन्दिपुर बजार क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरी संरक्षण र सम्वर्द्धन गरिने भएको छ । पालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थालाई सक्रिय र संगठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गर्ने नीति गाउँपालिकाको रहेको छ ।
उज्यालो बन्दिपुर अन्तर्गत उज्यालो गाउँ अभियान सञ्चालन गर्दै सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङ्ककोट दरबार मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुकेलगायत पर्यटकीयस्थलको संरक्षण र संवर्द्धन र प्रवर्द्धन गरिने भएको छ ।
पर्यटन लक्षित उत्पादन प्रवर्द्धनलाई प्रोत्साहन गरी थप रोजगारी सिर्जना गर्ने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बताए । साहसिक पर्यटन जीप फ्लाइङ, प्यारग्लाइडिङग र रक क्लाइमिडको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको विकासमा जोड नीति गाउँपालिकाले बनाएको भट्टले बताए ।
पर्यटकीय नगरी बन्दिपुर बजारमा रहेका बिन्दावासिनी मन्दिरबाट भइसेखार, खड्कमाई र टुँडिखेलसम्म ढुङ्गा छपनी कार्य सम्पन्न गरी पर्यटन प्रवर्द्धन कार्यलयाई सबल बनाउने नीति गाउँपालिकाको छ । सहरी क्षेत्रका मात्रै नभइ ग्रामीण होमस्टेको पर््रवर्द्धन गर्न होमस्टे मार्ट सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले बनाएको छ ।










