स्वरोजगार बनाउने सीप सिकाइदै : कुक, सिलाइकटाइ र पञ्चेबाजा तालिम
निशा थापा मगर/दमौली
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशले तनहुँको व्यास नगरपालिकासंग साझेदारी अगाडी बढाएको छ । परिषद्को आयोजना र व्यास नगरपालिकाको सहकार्यमा व्यास-१ मा कुक सहायक, सिलाइकटाइ र पञ्चेबाजा तालिम गत हप्तादेखि सुरु भएको छ । परिषद् र व्यास नगरपालिकाबीच भएको द्विपक्षीय सम्झौता बमोजिम पहिलो चरणमा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागि भएकी व्यास-१ निर्मालनगरकी बसन्ती आले व्यवसायिक बन्न सीप सिक्दैछन् । हातमा सीप नहुँदा बेरोजगार बनेको र समय पनि त्यतिकै खेरा गइरहेको हुँदा उनी अहिले सिलाइकटाइ सम्बन्धी प्रशीक्षण लिइरहेको बताउँछिन् ।
तालिममा सहभागी भएकी बसन्ती आम्दानीको अन्य केही श्रोत नभएपछि सिलाइकटाइ सम्बन्धी सीप सिकेर घरमै सिलाई सम्बन्धी व्यवसाय गरी स्वरोजगार बन्ने उनको लक्ष्यमा छन् ।
‘मेसिन चलाउन पनि आउँदैनथ्यो’, उनले भनिन्, ‘एक हप्ताको समयमा भोटो बनाउन सिकिसके, ६५ दिनमा धेरैनै सिक्छु जस्तो लागेको छ । पहिलो चरणमा सामान्य सिलाइकटाइ गरी कुर्थासुरवाल बनाउन सिके, दोस्रो चरणको तालिममा पनि सहभागि भएर व्यवसायि बन्ने सोचमा छु ।’
हातमा केही सीप नहुँदा घरधन्दामै समय कटाउँदै आएकी बसन्ती भन्छिन्, ‘सीप सिकेर आफैले केही इलाम गर्न मन छ । सफल पनि हुन्छु होला ।’ नगरबासीलाई जीउन सहयोग गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशसंग नगरपालिकाले समन्वय गरी गत बिहीबारदेखि ६५ दिने सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ । उक्त तालिम अन्तरगत नगरभित्रका २०/२० जनाको समूह बनाएर सिलाइकटाइ, कुक र पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरिएको हो ।
यस्तै, कुक सिकेर आफ्नै सानो होटल खोल्ने सपना बोकेको व्यास-१ रतौलिका २१ वर्षीय रञ्जित जिसीले बताए । उनले भने, ‘अहिले पढ्दै छु संगसंगै सीप पनि सिकिरहेको छु । पढाइ सकेपछि सानो लगानिमा भएपनि होटल खोल्ने सोच छ ।’
पछि पढाइ अनुसारको जागिर नपाएपनि आफ्नै हातमा सीप भएपछि सीप अनुसारको काम गर्न सकिने उनले बताए । यस्तै प्रशिक्षार्थीहरुले कुकको तालिम पछि बैदेशिक रोजगारीमा जानका लागि पनि सहज हुने बताए ।
यस्तै, सीपको अभावमा बेरोजगार बसेका नगरबासीको माग अनुसार तालिमहरु उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । उनले भने, ‘तालिम दिनेमात्र नभएर उनीहरुलाई रोजगारसंग जोड्ने हाम्रो लक्ष्य छ । यही लक्ष्य अनुसार अहिले तालिम सञ्चालन भएको छ ।’

नगरपालिकाले नगरबासीलाई सीपमुलक तालिम उपलब्ध गराउनका लागि सिटिइभिटीसंग दुइ वर्षको सम्झौता गरेको छ । ‘पहिले व्यक्ति विशेषले तालिम सञ्चालन गर्दथे, त्यसमध्ये कति प्रभावकारी हुन्थ्यो, कति तालिम तालिममा मात्रै सिमित हुन्थ्यो’, उनले भने, ‘अहिले हामीले तालिम तालिममै मात्र सिमित नभईकन प्रशिक्षार्थीको माग र आवश्यकातालाई ध्यान दिएर सोही अनुसारको तालिम उपलब्ध गराएका छौ । सहभागिहरुले तालिममा सिकेको सीप व्यवहारमा उतार्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
तालिममा सिकेका सीपलाई पेशा व्यवसायमा रुपान्तरण गर्न सकेमा तालिमको प्रभावकारिता बढ्ने सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले बताए । ‘छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत र व्यावसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगार बनाउन सिटिइभिटीले प्रदेशको सबै पालिकाहरुसंग सहकार्य गर्न चाहेको हो’, उनले भने, ‘हामीले व्यासमा द्विपक्षीय समझदारी गरेपछि धेरै पालिकाहरुबाट त्यस्तो खालको प्रास्ताव आएको छ ।’
युवाहरुलाई स्वरोजगार बनाउने सन्दर्भमा प्राविधिक तालिम दिने मात्र नभई सिटिइभिटीले युवा स्वरोजगार कोष मार्फत न्यून व्याजदारमा दुइ लाखदेखि १० लाखसम्मको ऋणको व्यवस्था समेत गर्न सकिने आचार्यले बताए । उनका अनुसार प्रशिक्षणको २७औं दिनमा राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी)ले लिने सीप परीक्षण उत्तीर्ण भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै तालिम दैनिक ६ घण्टाका दरले सञ्चालन गर्दै आइएको छ । विभिन्न विषयका तालिम सञ्चालनका लागि वैदेशिक रोजगार बोर्ड र पोखरा प्राविधिक शिक्षालयबीच भएको सम्झौता अनुसार निःशुल्क लेभल एक कुक तालिम सञ्चालन गरिएको छ ।
स्थानीय पालिकाहरुले वडावडामा सञ्चालन गर्ने तालिमको उपलब्धी प्रायः सून्य जस्तै बनेकाले व्यास नगरपालिकाले बेरोजगार युवायुवतीको चाहना र आवश्यकातालाई ध्यान दिएर तालिम सञ्चालन गरेको बताइएको छ ।










