आन्तरिक राजश्व कार्यालय दमौलीद्वारा मदिरा नष्ट

- भञ्ज्याङ समाचारदाता (दमौली)
आन्तरिक राजश्व कार्यालय दमौलीले मदिरा नष्ट गरेको छ । तनहुँ प्रहरीले गत कार्तिक २४ गते नियन्त्रणमा लिएका ९५ लिटर स्थानीय मदिरा बुधबार कार्यालय परिसरमा नै खाल्डो खनेर नष्ट गरिएको प्रमुख कर अधिकृत नारायण ढकालले जानकारी गराएका छन् । ढकाल संयोजकत्वको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय जन प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको अवैध मदिरा नियन्त्रण समितिको बैठकले बरामद मदिरा नष्ट गरेको बताइएको छ ।
यस्तै, बैठकले आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि भरपर्दो सूचनाका आधारमा अवैध मदिरा कब्जा गर्न र अन्तःशुल्क स्टिकरको वैधता परीक्षण गर्न सूक्ष्म रुपमा बजार अनुगमन गर्ने निर्णय समेत गरेको कार्यालय प्रमुख ढकालले बताएका छन् ।
कार्यालयले एक विज्ञप्ति जारी गरी अवैध मदिराको उत्पादन, सञ्चय तथा बिक्री वितरणबाट समाजमा विभिन्न किसिमका विकृति फैलने तथा इजाजतपत्र प्राप्त गरी उत्पादन तथा बिक्री हुने मदिराको खपतलाई समेत प्रतिकूल असर पर्न गई प्राप्त हुनुपर्ने राजस्व समेत गुम्न सक्ने अवस्थालाई मध्यनजर राखी यो समितिले नेपाल प्रहरीसँगको सहयोग र समन्वयमा बजार अनुगमन गर्ने, अवैध मदिरा उत्पादन, सञ्चय तथा बिक्री वितरण स्थलको खानतलासी गर्ने, त्यस्तो कार्यमा प्रयोग भएका यन्त्र, उपकरणलाई कब्जामा लिने, संलग्न व्यक्तिलाई पक्राउ गर्ने र यसका लागि आवश्यक रणनीति बनाउनेसम्मका कार्य गर्न सक्दछ भनिएको छ ।










