दुलेगौंडा-हर्कपुर सडक कालोपत्रेका लागि दबाब दिन उपभोक्ता समिति गठन
राजकुमार आले/भञ्ज्याङ

तनहुँको दुलेगौँडा-हर्कपुर निर्वाचन क्षेत्रस्तरीय सडक उपभोक्ता समिति गठन गरिएको छ । स्थानीय युवा दिपक सापकोटाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।
पहरेटारमा आज बिहान बसेको उपभोक्ताहरुको भेलाले पूर्वमन्त्री तथा गण्डकी प्रदेश सांसद आशा कोइरालाको उपस्थितिमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नारायण तिवारी, सचिवमा सन्तोष श्रेष्ठ र सहसचिवमा सचिन श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरुमा रवि भण्डारी, बीरबहादुर थापा मगर, कृष्ण थापा, शक्ति श्रेष्ठ, रमेश सुनार, तिर्थ गर्तौलालाई चयन गरिएको छ । अन्य सदस्यहरु लैंगि तथा भुगोल मिलाएर पछि मनोनित गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।
यस मोटरमार्ग कालोपत्रेका लागि गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्रस्तरीय योजना अन्तर्गत आर्थिक बर्ष २०७६/०७७ को बजेटमा २५ करोड ६० लाख विनियोजन गरेकोमा २५ करोड १० लाख ६० हजार ५८० रुपैयाँमा शंकरमाली निर्माण कम्पनीसंग सम्झौता भएको थियो ।
आगामी माघ १० गते योजनाको म्याद सकिने भएपनि हालसम्म २५ प्रतिशत मात्रै काम भएको हुँदा योजनालाई समयमै सम्पन्न गर्ने गरी कम्पनीलाई आवश्यक सहयोग र खबरदारी गर्न युवा टिमको समिति निर्माण गरिएको अध्यक्ष सापकोटाले बताए ।
स्थानीय सरकारको निर्वाचन हुनुपूर्व हालका वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको दुलेगौंडा-हर्कपुर मोटर मार्ग उपभोक्ता समितिले बाटोको विषयमा चासो र सक्रियता नै नदेखाएपछि अर्को उपभोक्ता समितिमार्फ् कामलाई अगाडी बढाउन समिति गठन गरिएको समितिले जनाएको छ ।
सो अवसरमा प्रदेश सांसद आशा कोइरालाले नवगठित उपभोक्ता समितिलाई बधाई दिदै बाटो समयमै सम्पन्न गर्नका लागि जनदबाब सिर्जना गर्न सुझाव दिइन् । आफुले पनि सक्दो पहल गर्दै आएको बताउँदै उनले जनता नै सबैभन्दा ठुलो शक्ति भएकाले आवश्यक सहयोग, समन्वय र दबाब पनि दिनुपर्ने बताइन् ।










