प्रेस चौतारी २४औं वर्षमा, स्थापना दिवसका अवसरमा तनहुँमा मास्क वितरण
भञ्ज्याङ न्यूज

प्रेस चौतारी नेपाल स्थापनाको २४औं वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रदेखि जिल्लासम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ । आजकै लागि चौतारीको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड-१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ ।

यस्तै, प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसको अवसरमा तनहुँ शाखाले शनिबार सचेतनामूलक कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा शाखाले दमौलीस्थित भोर्लेटारचोकमा मास्क वितरण गरेको हो ।
कोभिड-१९ को महामारीलाई ध्यानमा राखी सचेतनासँगै मास्क वितरण गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)ले जानकारी दिए। त्यसक्रममा चार सय भन्दा बढी मास्क वितरण गरिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समुन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य एवं शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, उपाध्यक्ष कृष्ण न्यौपाने, सम्झना रसाइली, सचिव ऋषिकान्त दुवाडी, कोषाध्यक्ष मदन तिमिल्सना, सहसचिव किरण श्रेष्ठ, सुनिता आचार्य, सदस्य सविन लामिछाने लगायतले र्सवसाधारणलाई मास्क वितरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष हरिराज कंडेल, उपसचिव प्रदीपराज अधिकारी, सदस्यहरु बसुन्धरा घर्ती, ऋषि भुषाल लगायतको उपस्थिति थियो ।










