तनहुँमा मोहम्मद जयन्ती मनाइयो
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँका मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाएका छन् । मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४९६औं जन्मोत्सवको अवसरमा बुधबार दमौलीमा र्याली निकालिएको थियो । मुलुकको समृद्धि र नेपालीबीच सद्भावको कामना गर्दै दमौलीमा र्याली प्रदर्शन गरिएको हो ।
दमौली मुस्लिम अन्जुमन कमिटीले दमौलीको मुख्यचोकबाट डाङ्ग्रेखोल्सी, सत्यवती मावि लाइन, प्रशासनचोक, सफासडक, न्यूरोड, कालिकामार्ग हुँदै मस्जिद पुगेर समापन भएको थियो । र्यालीमा सहभागिहरुले प्लेकार्ड, धार्मिक वस्त्र, धार्मिक झण्डा, राष्ट्रिय झण्डा सहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।
र्याली पछि कमिटीका अध्यक्ष हाजी रजक मियाँको अध्यक्षतामा धार्मिक प्रवचन गरिएको थियो भने हाजी जमाल दिन, सिद्धक मियाँ, सर्फूदिन मियाँ, वाहिद खान लगायतले मोहम्मद जयन्तीका विषयमा आ-आफ्ना विचार व्यक्त गरेको सचिव मन्सुर अहमदले बताए ।
हजरत मोहम्मदका जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको बताइन्छ ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल)को रुपमा मनाउने गर्दछन् ।