कोभिड विरुद्धको खोप सहज बनाउन व्यास नगरपालिकाको सरकारसंग अनुरोध
भञ्ज्याङ न्यूज

कोभिड-१९ को संक्रमण विभिन्न भेरियन्टमा पटक-पटक महामारीको रुपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पको रुपमा कोभिड विरुद्धको खोप भएको भन्दै तनहुँको व्यास नगरपालिकाले खोप व्यवस्थापनलाई सहज बनाउन अनुरोध गरेको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको नगर कार्यपालिकाको बसेको बैठकले सरकार तथा सम्बन्धित निकायलाई खोप व्यवस्थापनका लागि अनुरोध गरेको हो ।
नागरिकलाई कोभिड विरुद्धको खोपका लागि नेपाल सरकारले विभिन्न चरणमा अभियान सञ्चालन गरेको भएतापनि यो खोप आम नागरिकहरुको पहुँचमा सहज रुपमा पुगिनसकेको हुँदा यस नगरपालिकाका सम्पूर्ण नगरवासीहरुलाई आवश्यक पर्ने खोप सरकारकै तर्फाट उपलव्ध गराउन माग गर्ने बैठकले निर्णय गरेको छ ।
सरकारको तर्फबाट खोप उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाद्वारा नै खरिद गरी लगाउने व्यवस्था मिलाउनका लागि कोभिड-१९ को खोप खरिद गर्ने कार्यका लागि सम्बन्धित निकायमा अनुरोध गरी पठाउने बैठकले निर्णय गरेको प्रवक्ता शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी गराए ।
नगरपालिका एवं अन्य नीजि स्वास्थ्य संस्थाहरुमा पीसीआर परीक्षणको लागि स्वाव दिएका व्यक्तिहरु तथा अस्पतालमा उपचाररत कोभिड-१९ का बिरामीहरुका कुरुवाहरु असावधानीपूर्वक समुदायमा खुलारुपमा हिड्डुल गरेका कारण संक्रमणको झन जोखिम बढ्दै गएको जनगुनासो बढ्दै गएकाले स्वाव दिएका व्यक्तिहरु रिपोर्ट नआउँदासम्म र बिरामीका कुरुवाहरुले समेत पीसीआर गरी रिपोर्ट नआउँदासम्म होम क्वारेन्टिनमा बसिदिन नगरपालिकाले आग्रह गरेको छ।
बैठकले नगरपालिकाको वडा नं. १० दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा रहेको भवनमा ल्याव स्थापना गर्ने कार्यका लागि आवश्यक थप निर्माणको काम छिटो प्रक्रियाद्वारा अविलम्ब अगाडी बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
व्यास-१० को दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निर्माण प्रस्ताव गरिएको प्रयोगशाला स्थापनाको लागि आवश्यक पर्ने पीसीआर मेशिन खरिदका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट २५ लाख रुपैयाँ बरावरको कार्यक्रम स्वीकृत भई आएको हुँदा साथै गण्डकी प्रदेश सरकारबाट प्रयोगशाला निर्माणको लागि .५० लाख रुपैंया उपलव्ध गराउने सैद्धान्तिक सहमती प्राप्त भएको हुँदा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
कोभिड-१९ विरुद्धको अभियानमा १ लाख २७ हजार रुपैयाँ मुल्य बरावरको अक्सिजन मेशिन उपलव्ध गराउने लाइन्स क्लव अफ तनहुँ दमौलीलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ। यस्तै, बैठकले नगरपालिकाको कोभिड-१९ सम्बन्धी नियमित समिक्षा बैठकको व्यवस्थापन एवं कोभिड-१९ सम्बन्धी रिपोर्टिङ्ग गर्ने गरी शाखा अधिकृत मेघनाथ आचार्यलाई सदस्य-सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।










