कांग्रेस तनहु्ँको सभापतिका आकांक्षीहरु खुल्न सकेनन् : पौडेलका ‘हार्डलाइनर’ बीचनै चुनावी प्रतिस्पर्धा हुने सम्भावना
नारायण खड्का

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत तनहुँमा यही मंसिर ११ गते जिल्ला अधिवेशनको तयारी गरिएको छ । वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्र अधिवेशन सम्पन्न गरेको कांग्रेस तनहुँले मंसिर ११ गते शनिबारका दिन दमौलीमा जिल्ला अधिवेशन गर्ने तयारी गरेको हो । महाधिवेशन अन्तरगत तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा सोमबार प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरी नयाँ नेतृत्व र महाविधेशन प्रतिनिधिहरु निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराइ, ध्रुव वाग्ले लगायतका नेताहरुको गृहजिल्ला तनहुँको अधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ ।
जिल्लाको वडा, पालिका, प्रदेश र प्रतिनिधि सभा क्षेत्रको अधिवेशनमा संस्थापन र संस्थापन इतर समुहको प्यानल खडा गरी चुनावी प्रतिस्पर्धा भएको थियो । वडा तहको अधिवेशनमा प्रत्यक्ष दुइ समूहको प्रतिस्पर्धा नदेखिएपनि पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्ष प्रत्यक्ष देखिने गरी प्रतिस्पर्धा भयो । विशेषता जिल्लामा प्रतिनिधिसभा क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको चुनावी प्रतिपर्धा आम निर्वाचनको झल्को दिने गरी भयो ।
अधिवेशनबाट आफ्नो समूहको बहुमत उम्मेद्वारलाई बिजयी गराउन दुबै समूहबाट तडकभडकपूर्ण क्रियाकलाप भएको स्वायं कांग्रेसकै नेता कार्यकर्ताहरु बीच चर्चा चल्ने गरेको छ । प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनमा भएको तडकभडकपूर्ण क्रियाकलापले जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन भएमा यो क्रियाकलाप अझ बढ्ने नेता कार्यकर्ताहरु बीच चर्चा चल्ने गरेको छ ।
तनहुँमा प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा दुइ वटा प्यानल मैदानमा होमिएका थिए । संस्थापन देउवा पक्ष निकट केन्द्रीय सदस्यहरु शंकर भण्डारी, ध्रुव वाग्ले, गोविन्द भट्टर्राई र तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको प्यानल खडा भएको थियो।
केन्द्रमा कृष्ण सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको समुहले पनि प्यानल खडा गरी चुनावी प्रतिस्पर्धा गरेका थिए । जिल्ला सभापति न्यौपाने र कार्यवाहक सभापति आले वरिष्ठ नेता पौडेलका ‘हार्डलाइनर’ नेता हुन । तर यी दुबै नेता अधिवेशनको समयमा फरक फरक प्यानल तयार गरी चुनावी प्रतिस्पर्धामा उत्रिन पुगे ।
संस्थापन देउवा पक्षले वरिष्ठ नेता पौडेल तथा जिल्ला सभापति न्यौपानेलाई जिल्लामै कमजोर सावित गराउन ‘हार्डलाइनर’ नेतालाई विभाजन गरेर प्यानल खडा गरेको एकपक्षबाट चर्चा समेत चलेको छ । दुइ प्यानल बीच भएको चुनावी प्रतिस्पर्धाबाट प्राप्त मतलाई विश्लेषण गर्दा क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो देखिन्छ भने क्षेत्र नम्बर २ मा संस्थापन समूह बलियो देखिएको छ । तर, वरिष्ठ नेता पौडेल निकट मानिएकै उम्मेदवारहरु बढि विजयी भएकाले जिल्ला अधिवेशनमा पौडेल निकट मानिएकै उम्मेदवारहरु बीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बलियो बन्दै गएको छ ।
क्षेत्र नम्बर १ को सभापतिमा जिल्लाका सचिव विश्व बाँस्तोला र श्याम मौरतीबीच प्रतिस्पर्धा भएको थियो । बाँस्तोला पौडेल निकट नेता भए पनि संस्थापन समूहका नेता हाबी भएको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए । मौरती पौडेल र न्यौपानेको प्यानलबाट चुनावी मैदानमा उत्रिएर निर्वाचित समेत भएका छन् । क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा संस्थापन समुहको प्यानलबाट चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।
यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा कृष्णराज पण्डित र चुडामणि खनाल बीच चुनावी प्रतिस्पर्धा भएको थियो । खनाल वरिष्ठ नेता पौडेल निकट नेता भनिए पनि भण्डारी, वाग्ले, भट्टर्राई र आलेको प्यानलबाट चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् भने प्रतिस्पर्धी पण्डित पौडेल र न्यौपानेको प्यानलबाट उमेदवार बनेका थिए । क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा पौडेल र न्यौपानेको प्यानलबाट चार जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको संख्यालाई हेर्ने हो भने दुबै समुह बराबरी देखिन्छन् ।
यता, जिल्ला अधिवेशनबाट नेतृत्व हाँक्नका लागि यो समाचार तयार पार्दसम्म कुनै पनि आकांक्षिले सभापति पदका लागि उम्मेदवारी दिने आधिकारीक घोषणा भने गरेका छैनन् । तर, सभापति बैकुण्ठ न्यौपाने र कार्यवहाक सभापति जितप्रकाश आले बीच जिल्ला सभापति पदका लागि प्रतिस्पर्धा हुने चर्चा चलेको छ । न्यौपाने र आलेसंगै सम्भावित सभापतिको उम्मेद्वारका रुपमा प्रा.डा. कृष्णप्रसाद गौतम र रामचन्द्र अधिकारीको नाम पनि अगाडि आएको छ ।
यद्यपी जिल्ला सभापतिको पदमा भने र्सवसम्मत गराउने प्रयास भएको छ । तर, प्रदेश र प्रतिनिधिसभा क्षेत्रमा दुइ समुहबीच भएको चुनावी प्रतिस्पर्धाले सहजै जिल्ला सभापति पद सर्वसम्मत हुने सम्भावना न्यून रहेको कांग्रेस नेताहरु बताउँछन् । हालका सभापति न्यौपाने र कार्यबाहाक सभापति आलेले आ-आफुले नै र्सवसम्मत रुपमा जिल्ला सभापति पदको दाबा गरेको बुझिएको छ।
यता, कार्यवाहाक सभापति आलेले आफूले कार्यवाहाकका रुपमा जिम्मेवारी सम्हाल्दै आएको र साथीहरुको चाहाना पनि सभापतिमा मनै हुनुपर्ने भन्दै आउनु भएकोले सकेसम्म र्सवसम्मत रुपमा सभापति पद मेरो पक्षमा आउनुपर्ने बताउँछन् ।
उनले भने, ‘मेरो भन्दा पनि साथीहरुको चाहाना छ, मैले सभापति पदका लागि आधिकारीक उम्मेदवारी घोषणा गरेको छैन । सर्वसम्मतीका लागि छलफल पनि भइरहेको छ । सभापति पदको आकांक्षी हुँ । भोली दिउँसोसम्म एउटा निष्कर्षा पुग्छौ । पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धा हो । राजनीतिमा एक पक्ष र अर्को पक्ष बीच एलाइनस् गरेर प्रतिस्पर्धामा उत्रिनुपर्छ यो कुनै ठूलो कुरा नभएको र म अहिलेसम्म वरिष्ठ नेता पौडेलकै पक्षमा छु ।’
र्’र्सवसम्मतका लागि ५०/५० प्रतिशतको सम्भावना रहेको छ’, आलेले भने, ‘सभापतिमा उठ्ने कुरा मेरो भन्दा पनि साथीहरुको भनाई हो । सकेसम्म सबै मिलेर एकताबद्ध भएर जाम भन्ने मेरो कुरा हो। साथीहरुको सरसल्लाहले के हुन्छ त्यही अनुसार अगाडि बढ्छु ।’
‘मैले राजनीति आफ्नो लागि नभई राष्ट्र, प्रजातन्त्र र जनताका लागि गरेको हुँ’, आलेले भने, ‘साथीहरुको आग्रहलाई अस्वीकार गर्ने कुरै भएन, यो र त्यो पक्षमा भन्दा पनि कार्यवाहाक भएपछि सभापति हुनुपर्छ भन्ने स्वभाविक कुरा हो र साथीहरु बीच प्रतिस्वध साँध्न, आग्रह पूर्वाग्रह राखेर आफु उपस्थित भएको होइन् । सबै मिलेर र एक भएर समहमतिमा आगाडि बढ्नुको विकल्प छैन ।’
यता, सभापति बैकुण्ठ न्यौपानेले पनि अहिलेसम्म आफुले पुनः सभापति पद दाबी गर्ने निर्णय र घोषणा नगरेको बताएका छन् । आगामि कार्यकालका लागि पनि सभापतिको आकांक्षिको रुपमा चर्चा चलेको विषयमा न्यौपानेले भने, ‘साथीहरु सबैको चाहाना र जिज्ञासा पुनः सभापति उठ्नुस भन्ने छ । आफुले त्यस विषयमा केही निर्ण्र्ाागरेको छैन । आफु जस्तै योग्य, विज्ञ साथीहरु हुनुहुन्छ। आवश्यक छलफल र परामर्श गरेर जे टुङ्गो लाग्छ सोही अनुसार अगाडि बढ्नेछौं ।’
वडा तह देखिनै दुइ समूह बिचको प्रतिस्पर्धाले जिल्लामा काँग्रेस अधिवेशन पेचिलो बन्दै गएको छ । पार्टी सभापति पदमा उम्मेदवारी दिन सक्ने सम्भावित उम्मेदवारका रुपमा चर्चा चलेका प्रा.डा. कृष्णप्रसाद गौतम र रामचन्द्र अधिकारीलाई चुनावी प्रतिस्पर्धा भएमा न्यौपानेले यी दुइ मध्ये एक जनालाई अगाडि बढाउन सक्ने सम्भावना रहेको समेत चर्चा चलेको छ । यद्यपी प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन जस्तै जिल्ला अधिवेशनमा पनि यही समुह बीच चुनावी एलाइन्स भएमा वरिष्ठ नेता पौडेल पक्षकै नेताहरु बीच चुनावी प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।
संस्थापन पक्षसंग एलाइनस् गरेर जिल्ला सभापति पदमा आकंक्षी बनेका आले निर्विकल्प देखिएका छन् भने संस्थापन इतरको समुहबाट हालका सभापति न्यौपाने वा न्यौपानेले चाहेमा गौतम वा अधिकारी मध्ये एक जना बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यदि चुनावी प्रतिस्पर्धा भएमा आलेको प्रतिस्पर्धामा न्यौपाने बाहेक अन्य उम्मेदवार आएमा स्वत आले निर्वाचित हुने र न्यौपाने उम्मेदवार बने र संस्थापन समुहबाट आले बाहेक अन्य उम्मेदवार आएमा सहजै न्यौपाने निर्वाचित हुने समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरु बीच चर्चा चल्न थालेको छ ।
त्यस्तै, पार्टीको कारवाहीमा परेर हालै फुकुवा भएका काँग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि अहिले जिल्लामै आएर स्वतन्त्र रुपमा सक्रिय राजनीति गतिविधि आगडि बढाएका छन् । आफ्नो टिकट जनताबाट लिऔं भन्ने अभियान चलाएका नेता जोशीले स्वतन्त्र रुपमा आफु प्रस्तुत हुने बताउँदै आएका छन् । पार्टीको अधिवेशन र आन्तरिक निर्वाचनमा हालसम्म खासै हस्ताक्षेप नगरेका जोशीले अब जिल्ला अधिवेशनमा उनको गतिविधिले के कस्तो असर पुग्छ त्यो भने प्रतिक्षाकै घडीमा छ ।










