तालिमको उपलब्धिका विषयमा अन्तरक्रिया : विभिन्न समस्याले उद्यमी बन्न सकिएन

राजकुमार आले/दुलेगौंडा

तनहुँको शुक्लागण्डी नगरपालिका-५ को वडास्तरीय महिला सञ्जालले नगरपालिकाले विभिन्न चरणमा सञ्चालन गरेको तालिमका सहभागिहरु र सरोकारवाला बीच अन्तरक्रिया गरेको छ । महिलाहरुलाई तालिम पश्चात् रोगजार उन्मुख गराउन जिम्मेवार बनाउने र सरोकारवालाहरुलाई पनि महिलाहरुको समस्या र गुनासो बुझेर समाधानको बाटो पहिल्याउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको हो ।

बेलचौतरामा विहीबार आयोजित कार्यक्रममा सहभागीहरुले तालिमबाट हाँसिल गरेको सफलता, उद्यमी बन्न नसक्नुका कारण, बजारको अवस्था, वडा तथा समाजको सहयोगको वातावरण लगायतका विषयमा छलफल गरेका थिए । गत आर्थिक बर्ष २०७६/०७७ को महिला लक्षित कार्यक्रम अन्तर्गत अचार बनाउने, सिलाइ कटिङ्, झोला बुन्ने तथा च्याउखेती लगायतका सीपमुलक तालिममा सहभागी महिलाहरु कार्यक्रममा उपस्थित थिए ।

सहभागी महिलाहरुले आधारभुत तालिमपछि एड्भान्स तालिम नहुनु, बाहिरबाट आयातित बस्तुसंग प्रतिष्पर्धा गर्न नसक्नु, बजार व्यवस्थापनमा समस्या हुनु, प्रविधिको सुविधा नहुनु, कोरोनाको डर, पारिवारिक समस्या लगायत विविध कारणले उद्यमी बन्न नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा महिलाहरुको जिज्ञासा र गुनासोको सहजिकरण गर्दै गण्डकी प्रदेश साँसद तथा पुर्वमन्त्री आशा कोइरालाले आफुहरुलाई रुचि भएको तालिम छनौट गरेर व्यवसायिक बन्ने लक्ष्य लिनुपर्ने बताइन् । उनले तालिमका लागि मात्र तालिम लिएर नहुने भन्दै जुन विषयको तालिम लिएको हो त्यहि विषयमा व्यवसायिक बन्नु पर्नेमा जोड दिइन् ।

‘जुन क्षेत्रमा रुचि छ, त्यहि विषयको तालिम लिनुहोस्, व्यवसायिक बन्नतर्फ लाग्नुहोस्, एउटै मान्छेले पटक पटक तालिम लिने तर काम केही नगर्ने हो भने तालिमको कुनै अर्थ हुदैन’, उनले भनिन्, ‘तालिम लिएर मात्र राज्यलाई सहयोग हुँदैन, सिकेको सीपलाई कार्यान्वन गरेर आम्दानी गरौँ, राज्यलाई आत्मनिर्भर हुन सहयोग पुर्‍याऔ ।’

साँसद कोइरालाले आधारभुत तालिमपछि पनि सीप तथा क्षमता बढाउन आवश्यक भए एड्भान्स तालिम माग गर्न सुझाव दिदै आवश्यक सहयोग गर्न आफु तयार रहेको बताइन् । तालिम लिनेले पनि सक्रियता देखाउनु पर्ने र तालिम दिने प्रशिक्षकले पनि बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा वडाध्यक्ष दीर्घबहादुर थापाले आत्मनिर्भर तालिमका लागि वडाले गरेको लगानी अनुसार प्रतिफल नआउँदा तालिम उत्साजनक हुन नसकेको बताए । तालिम लिएपछि सहभागी सबैबाट धेरथोर केही न केही परिणाम प्राप्त हुनुपर्छ तर अधिकांशले प्रमाणपत्रका लागि मात्र तालिम लिएको जस्तो देखिएको भन्दै केहीमा मात्र व्यवसायप्रति उत्साह र रुचि देखिएको उनले बताए ।

‘समय दिन सक्ने र केही गर्छु भन्ने आँट भएकाले मात्र तालिम लिनुपर्छ’, उनले भने, ‘तालिममा सहभागी हुने उद्घाटन र समापनको दिन आउने र प्रमाणपत्र लिएर जाने तर केही नगर्ने गर्न भएन । तालिम लिएपछि प्रयास गर्नुपर्‍यो, थप तालिमको आवश्यकता भए वडाले व्यवस्था गर्छ ।’ वडास्तरीय महिला सञ्जालकी अध्यक्ष मंगला रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पदमप्रसाद तिमिल्सिना, महिला उद्यमी तनहुँकी अध्यक्ष कल्पना गौली, महिला सञ्जालकी उपाध्यक्ष रीता भण्डारी, सचिव मथुरा आले लगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।

सो अवसरमा अचार बनाउन जागुरुक विष्णु शाहीको समुहलाई अनुदान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइएको अध्यक्ष रानाले जानकारी दिइन् । अध्यक्ष रानाका अनुसार उक्त रकमले आलु चिप्स बनाउने मेसिन, अचारको डब्बामा शिल प्याक गर्ने लगायतका सामान खरिदमा लगानी गर्नुपर्ने छ । अनुदान रकमको सहि सदुपयोग भए नभएकोबारे नियमित अनुगमन समेत हुने उनको भनाई थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker