सन्तान प्राप्तिका लागि इशानेश्वरमा ठाडो बत्ती

जनक श्रेष्ठ/लमजुङ

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् । लामो समयसम्म पनि सन्तान नहुँदा यहाँ शिवरात्रि पर्वमा रातभरि उठेर बत्ती बाल्दा सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट आएका यतिका संख्याका महिलाहरूले यहाँ उठेर ठाडो बत्ती बालेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लमजुङ सहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, बागलुङ, काठमाडौं लगायतका जिल्लाबाट भक्तजनहरू आएका थिए ।” समितिले एक हजार ३०० जनाका लागि उठेर ठाडो बत्ती बाल्ने व्यवस्था गरे पनि ६०० जनाले मात्र ठाडो बत्ती बालेको र बसेर ३०० जनाको लागि बत्ती बाल्ने व्यवस्था गरे पनि आठ हजारभन्दा बढीले बत्ती बालेको जनाएको छ । समितिका अनुसार ठाडो बत्ती बाल्नेका लागि रु ५०० र बसेर बाल्नेका लागि रु ३०० टिकटको व्यवस्था गरेको थियो । त्यस्तै, शिवरात्रि पर्वका दिन ६ लाख भक्तजनहरूले शिव दर्शन गरेको समितिको अनुमान छ ।

समितिका अनुसार गत वर्ष ८०० जनाले ठाडो बत्ती बालेका जनाइएको छ । तनहुँ बन्दीपुर गाउँपालिका-३ घर भई काठमाडौं बस्दै आउनुभएका सृजना पौडेलले भन्नुभयो, “मैले विसं २०७५ मा शिवरात्रि पर्वमा आएर ठाडो बत्ती बालेको थिए, अनि विसं २०७६ मसिर महिनामा छोरो जन्मियो ।”

यस मन्दिरमा सन्तान प्राप्त र सन्तान भएपछि शिवरात्रिमा मन्दिरमा देखाउन आउनेको बर्सेनि भीड लाग्छ । सन्तान वा पुत्र-पुत्री लाभको कामना गर्दै उनीहरूले रातभरि निराहार (पानीसमेत नखाइ) सन्तानको इच्छा राखेर इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बाल्ने, सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा आएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तानका साथै अन्य मनोकामनासमेत पूरा हुने विश्वासले मेलामा ठाडो बत्ती बाल्नेहरूको घुइँचो लाग्छ, विशेषगरी महिलाहरूको बाहुल्यता देखिन्छ ।

रातभरि उभिएरै बाल्ने भएकाले यसलाई ‘ठाडो बत्ती’ भनिएको पुजारीहरू बताउँछन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको इशानेश्वर महादेवको मन्दिरलाई सन्तानेश्वर महादेवका रूपमा समेत चिनिन्छ ।

स्थानीय बासिन्दाका अनुसार तत्कालीन लमजुङका राजा वीरनारायण शाहले मन्दिर निर्माण गरेका थिए । प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई उक्त ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ ।

किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए । त्यतिबेलादेखि नै इशानेश्वर महादेवमा सन्तानको चाहना राख्ने नरनारीले ठाडो बत्ती -उठेर बाल्ने बत्ती) बाल्ने चलन चलेको समितिले जनाएको छ। यस मन्दिरलाई नेपालकै पशुपति मन्दिरपछि दोस्रो मन्दिरसमेत भन्ने गरिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker