मगरले राज्य गरेको गलेखामकोटको प्रवर्द्धन गर्दै स्थानीय

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ, गलेखामकोट । कन्टारबाट साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट सदरमुकामबाट १५ किलोमिटर दूरीमा छ । कुनै बेला मगर जातिका राजाले समेत राज्य गरेको यस ठाउँलाईको प्रवर्द्धनमा स्थानीय जुटेका छन् । गलेखामकोटमा मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय हिसाबले यो प्रचुर सम्भावना भएको स्थान भए पनि आवश्यक प्रचारप्रसार नहुँदा ओझेलमा परेको महसुस भएको छ । यस ठाउँको विकास र प्रवर्द्धनका लागि स्थानीय जुटेका छन् ।”

यहाँका तत्कालीन मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अन्त्यन्त आकर्षक र तनहुँको तेस्रो अग्लो पहाडको रूपमा परिचित रहेको श्रेष्ठले बताउनुभयो ।

यहाँबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकास्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

स्थानीय मुनिराज गुरुङ प्रचुर सम्भावना बोकेर पनि यस ठाउँको विकास हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ, तर यस ठाउँको पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । हामी अब यसको प्रवर्द्धनमा जुटेका छौं ।” उहाँले पछिल्लो समय यहाँ शनिबार र बिदाका दिन फाट्टफुट्ट आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको बताउनुभयो ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । गलेखामकोटमा भ्यूटावरसमेत बनेको छ । यहाँ विसं २०७६ मा रु १६ लाख ५० हजारको लागतमा भ्यूटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्छ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लुलगायतको हिमशृङ्खला देख्न सकिन्छ ।

समुद्र सतहबाट दुई हजार दुई सय सात मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे–चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँमा बेला विशेष पूजाआजा हुने गरेको छ । बडादसैँको नवमीको दिन मन्दिरमा पञ्चबलि दिने प्रचलन रहेको स्थानीय मनिता गुरुङले जानकारी दिनुभयो । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रूपमा काम गर्दै आएका छन् ।

यस ठाउँमा राजाको पालामा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षितरूपमा राखिएको छ । गलेखामकोटको प्रवर्द्धन र विकासका लागि नगरपालिकाले पहल थालेको वडाध्यक्ष जीवन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गलेखामकोट ऐतिहासिकस्थल पनि हो । यसको विकासमा नगरपालिका योजनासहित अगाडि बढ्छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker