राष्ट्रिय जनगणना- २०७८ को तयारी तिब्र
डिपि अधिकारी/डुम्रे

तनहुँमा राष्ट्रिय जनगणना-२०७८ को तयारी तिब्र पारिएको छ । ‘मेरो गणना मेरो सहभागिता राष्ट्रिय गणना २०७८’ भन्ने मुल नाराका साथ यहि कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने गणनाका लागि तयारी तिब्र पारिएको जिल्ला तथ्यांक कार्यालय तनहुँका प्रमुख नन्दलाल सापकोटाले जनाएका छन् ।
तथ्यांक लिनका लागि घरघरमा खटिने गणकका लागि प्रशिक्षणको पनि तयारी गरिएको उनले बताए । कार्यालयका प्रमुख सापकोटा अनुसार तनहुँमा करिब ५ सय गणकलाई २० जना प्रशिक्षकले जिल्लाका आँबुखैरेनी, डुम्रे, दमौली, खैरेनीटार र भिमाद गरि ५ ठाउँमा कार्तिक १३ गते देखि १६ गते सम्म ४ दिन प्रशिक्षण दिईनेछ । उनले भने, ‘तथ्यांकका लागि घरघर पुग्ने गणकले आँफूलाई खर्टाईएको क्षेत्रमा भौगोलिक विकटता हेरी १ सय ६० देखि २ सय ५० घरधुरीको तथ्यांक लिनु पर्ने र गणनाका लागि फरक क्षमता भएका ब्यक्ति र महिलालाई विशेष प्राथमिकता दिइएको छ ।’
संंघीय लोकतान्त्रीक गणतन्त्र पछिको पहिलो गणना भएकाले स्थानीय तह र वडाको समेत तथ्यांक आउने हुँदा यसको महत्व अझै बढेको तथ्यांक विभागका निर्देशक रामहरि गैरेले बताए । उनले भने, ‘बिगत भन्दा यस पटक जनगणनामा नयाँ प्रश्नावली थपिएका छन् ।’
‘१०-१० बर्षमा हुने जनगणना राष्ट्रिय कार्यक्रम भएकाले तथ्यांक दिएर सहयोग गरिदिन कार्यालयले सबैमा अनुरोध गरेको छ । जनगणनाबाट निकालिएको निश्कर्ष राष्ट्रिय सम्पत्ति हुने भएकाले यसका लागि सबैको सहयोगको जरुरत पर्ने निर्देशक गैरेले बताए । जनगणना सही भयो भने योजना निर्माण र कार्यन्वयन पनि प्रभावकारी हुने उनको भनाइ छ ।
यस पटकको आबास तथा जनगणनामा वडागत आर्थिक, सामाजिक, पर्यवरणीय तथ्यांक आउनुका साथै मानिस नबसेको घरको समेत तथ्यांक लिने, कुन परिवारमा कतिजनाले बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन भन्ने तथ्यांक जनगणनाबाट प्राप्त हुने, अनुदानमा घर निर्माण कतिले गरे भन्ने जानकारी पनि गणनाबाट प्राप्त हुनेछ । प्राविधिक शिक्षा लिने कति छन् भन्ने बिवरण समेत आउनेछ । गत वर्षमा ८ वटा मध्ये एउटा घरपरिवारको पूर्ण लागत लिईने गरिएकोमा यस पटक सबै परिवारको सवै विवरण पूरै भरिने छ । जनगणना कार्यक्रम अन्तरगत सुपरीबेक्षकले भदौ ३० देखि असोज १८ गतेसम्म शुद्धिकरणको काम सम्पन्न गरिसकेका छन् ।










