३९० घण्टे निःशुल्क च्याउखेती र सिलाइ तालिम

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
बेरोजगार युवाहरुलाई सीप सिकाएर दक्ष बनाई स्वरोजगार बनाउने उद्देश्यले शुक्लागण्डकी नगरपालिका-८ मा प्राविधिक शिक्षा तथा सीपमुलक तालिम शुरु गरिएको छ । तनहुँ बहुप्राविधिक शिक्षालय भीमादले वडा नं. ८ को व्यवस्थापनमा ३९० घण्टे निःशुल्क च्याउ खेती तथा सिलाई कटाइ तालिम आइतबारदेखि शुरु गरेको छ । तालिम अन्तरगत च्याउ खेतीमा २० र सिलाई कटाइमा २० गरी ४० जना सहभागी हुनेछन् । तालिम पश्चात् सीप परीक्षणमा पास हुने प्रशिक्षार्थीलाई मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिने शिक्षालयले जनाएको छ ।
उक्त तालिम शुभारम्भ समारोहमा जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले धेरै विषयमा हात हाल्नु भन्दा एउटा विषयलाई महत्व दिनसके लक्ष्यमा पुग्न सकिने बताइन् । उनले आएका तालिम सबैमा सहभागी हुन पाए हुन्थ्यो भन्ने सोचाईलाई त्यागेर एउटा विषयमा दक्ष भई अगाडी बढ्न प्रशिक्षार्थीहरुलाई सुझाव दिइन् ।
वडा नं. ८ की वडा सदस्य समेत रहेकी गौतमले यस अघिका तालिममा राम्रो गर्नेहरु अहिले प्रशिक्षकको रुपमा देख्न पाउँदा खुसी लागेको बताउँदै अहिलेका प्रशिक्षार्थीहरुले पनि त्यहि लक्ष्य लिएर तालिममा सहभागी हुन आग्रह गरिन् ।
कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले वडामा संचालित तालिमहरु निकै फलदायी तथा प्रभावकारी भएको बताए । उनले जनप्रतिनिधि निर्वाचित भएर आएपछि वडाले ५/६ सय युवाहरुलाई सीप सिकाएर दक्ष बनाएको दाबी गरे । दुइ तहको टेलरिङ तालिम यस बर्ष वडामा हुन लागेको बताउँदै टेलरिङका लागि प्राविधिक शिक्षालयलाई आवश्यक दक्ष जनशक्ति वडा नं. ८ बाटै उपलब्ध गराउन सक्ने अवस्था आफुहरु रहेको बताए ।
‘टेलरिङ तालिमबाट प्रशिक्षक नै उत्पादन भइसक्नु भएको छ, प्लम्बिङमा सहभागी ६० प्रतिशत स्वरोजगार बन्नुभएको छ, इलेक्ट्रिसियनमा सहभागी युवाहरु सफल व्यवसायी बन्नुभएको छ, व्यूटीसियनमा पनि राम्रो परिणाम देखिएको छ’, उनले बताए ।
उनले सहभागीलाई निःशुल्क तालिम हो भनेर कम महत्व नदिन आग्रह गरे । तालिमका लागि सरकारले उपलब्ध गराएको बजेट जनताले तिरेकै करबाट आएको भन्दै तालिमको लागि आएको बजेटमा हाम्रो रगत पसिना छ भन्ने महसुस गर्न अनुरोध गर्दै तालिमलाई निःशुल्क हो भनेर कुनै किसिमको हेल्चक्राई गर्न नहुनेमा जोड दिए ।
तनहुँ बहुप्राविधिक शिक्षालय भीमादका प्रमुख परशुराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालयकी लेखापाल गंगा त्रिपाठी, शिव टोल विकास संस्थाका अध्यक्ष पिताम्बर खाँती, वडाका कर्मचारी इन्द्र पौडेल लगायतले स्वरोजगार बन्ने लक्ष्यका साथ उत्साहजनक रुपमा सहभागी हुन प्रशिक्षार्थीहरुलाई सुझाएका थिए ।










