आँधीमूल मन्दिरका माछा मरेपछि क्षमापूजा

तनहुँको धार्मिक एवं पयटकीय गन्तव्य आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्न थालेपछि सोमबार क्षमापूजा गरिएको छ । आँबुखैरेनी गाँउपालिका १ स्थित रहेको उक्त मन्दिरमा केही दिन यता धमाधम माछा मर्न थालेका छन् । देवि माताको रुपमा पूजा गर्दै आएका माछा मर्न थालेपछि आँधीमूल क्षेत्र संरक्षण समितिले क्षमापूजा गरेको हो ।
समितिका अध्यक्ष हिमाल थापाले स्थानियहरुको सहभागितामा सोमबार मन्दिर परिसरमा सामुहिक रुपमा क्षमा पूजा गरिएको हो । उनले भने, ‘देवी माता रिसाएका कारण यस्तो हुन सक्ने भएकाले क्षमा पूजा गरिएको हो । मन्दिरमा परम्परागत रुपमा चली आएको रितिरिवाज अनुसार नै पूजा सम्पन्न गरिएको छ ।’
यता पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले गरेको अनुसन्धानमा माछा मर्नुको कारण एसिड डेथ रहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पोखरामा गरिएको परिक्षणको क्रममा पानीमा धेरै मात्रामा इकोली नामक जीवाणु रहेको र एसिड डेथ भएको रिपोर्ट आएको बताए ।
उनले भने, ‘दिन दिनै धमाधाम माछा मर्न थालेपछि प्राविधिक टोली पुगेर उक्त पोखरीको पानी, दानाको नमुना संकलन गरी पोखरा पर्ठाईएको थियो । परिक्षणको क्रममा एसिड डेथ भएको कारण केही बचेका मुख्य पोखरीमा सारिएको थियो ।
मरेका माछालाई काजक्रिया गरी खाडल खनेर अन्येष्टि गरिएको छ। जलदेवताका रुपमा विश्वास गरिने भएकाले माछा मरेपछि अनिवार्य रुपमा काजक्रिया गर्नुपर्ने संस्कार रहेको समितिले जनाएको छ ।