डेंगी संक्रमण बढेपछि डुम्रेमा लामखुट्टेको लार्भा “खोज र नष्ट गर” अभियान, तनहुँमा १७४४ जनामा डेंगी संक्रमण

तनहुँमा डेंगी संक्रमण दैनिक बढ्दै गएको छ । डेंगी संक्रमण बढ्दै गएपछि बन्दीपुर गाउँपालिका–१ को डुम्रे बजार क्षेत्रमा डेंगी संक्रमण फैलाउने लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान सञ्चालन गरिएको छ । बन्दीपुरमा डेंगी संक्रमित दैनिक बढ्दै गएपछि बन्दीपुर गाउँपालिकाले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा ‘खोजौ र नष्ट गरौ’ अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत तनहुँको व्यवसायिक केन्द्र डुम्रे बजारमा डेंगी रोग सम्बन्धी सचेतनामूलक तथा सरसफाई कार्यक्रम गरिएको वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । बन्दीपुर–१ कार्यालयको आयोजनामा वडाका विभिन्न टोलमा सचेतना मुलक कार्यक्रमसंगै सरसफाई र खोज र नष्ट गर कार्यक्रम गरिएको उनले बताए ।
डुम्रे टोल विकास संस्थाको संयोजनमा भएको उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई, क्षत्रीय होटल संघ डुम्रे बजार इकाई, डुम्रे साँस्कृतिक एवं सामाजिक संरक्षण समिति, डुम्रे साँस्कृतिक युवा क्लब, हरिहर महिला समुह, शिवालय आमा समुह, माछा मासु व्यावसायी संघ डुम्रे, सुनचाँदी ब्यावसायी संघ डुम्रे, इलेक्ट्रेनिक्स संघ डुम्रे, लायन्स क्लब अफ तनहुँ डुम्रे, सौदर्य ब्यावसायी संघ डुम्रे, झींगूँ नेवा पूःच डुम्रे, शसस्त्र प्रहरी बल मनकामना गण भनु, प्रहरी चौकी डुम्रे लगायतका संघ संस्था तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले यो अभियानमा हामी सबैको भएको हुँदा सबैले आ–आफ्नो घरदेखिनै सरसफाइमा विशेष ध्यान दिनुपर्ने, डेंगी संक्रमण रोकथामका लागि आवश्यक सावधानीका उपायहरु अपनाउन आग्रह गरे ।
तनहुँमा गत वर्ष जस्तै यस वर्ष पनि डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । गत वर्ष तनहुँका करिब आठ हजार जनामा डेंगी संक्रमण देखिएको थियो भने पाँच जनाले डेंगी संक्रमणका कारण ज्यान गुमाएका थिए ।
यस वर्षको मनसुनी वर्ष सुरुभएसंगै जेठ १ गतेबाट तनहुँमा डेंगी संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय तनहुँका अनुसार बुधबारसम्म तनहुँमा १ हजार ७४४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने १ जना पुरुषको डेंगी संक्रमणका कारण मृत्यु भएको छ ।
गत वर्ष सदरमुकाम दमौली बजार क्षेत्रमा महामारिकै रुप लिएर फैलिएको डेंगी यस वर्ष आँवुखैरेनी बजार क्षेत्र बढी प्रभावित भएको छ भने बन्दीपुर शुक्लागण्डकी र व्यास नगरपालिकमा संक्रमितको संख्या सय कटेको छ । घिरिङ गाउँपालिकामा हालसम्म संक्रमित भेटिएका छैनन् ।

स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार विहीबारसम्म आँवुखैरेनीमा १ हजार २१३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणको हाटस्पोट बन्दै गएको छ । गत जेठ ३१ गते पहिलो डेंगी संक्रमित भेटिएको आँवुखैरेनीमा अहिले दैनिक २०/३० जनामा संक्रमण देखिन थालेको छ ।
स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पुजा कुवँरका अनुसार शुक्लागण्डकी नगरपालिकामा २०३, व्यास नगरपालिकामा १६६, बन्दीपुर गाउँपालिकामा १०५, म्याग्दे गाउँपालिकामा ३०, भानु नगरपालिकामा १२, भिमाद नगरपालिकामा ६, ऋषिङ गाउँपालिकामा ३ र देवघाट गाउँपालिकामा ५ जना र अन्य १ जनामा विहीबारसम्म तनहुँका १ हजार ७४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।










