पर्यटकीय गाउँ टुटेपानीको घरघरमा लिफ्ट प्रविधिबाट खानेपानी

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी गाउँमा लिफ्ट प्रविधिबाट खानेपानी वितरण थालिएको छ । ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको टुटेपानी गाउँका घरघरमा खानेपानीका धारा वितरण गरिएको छ । गाउँबाट करिब ९० मिटर तलबाट लिफ्टबाट गाउँमा खानेपानी ल्याइएको छ । खानेपानीका लागि घण्टौ समय खर्चदै आएका यहाँका बासिन्दालाई घर आँगनमै खानेपानीको धारा आएपछि समयको बचतका साथै पानीको समस्या हटेकोमा खुसी भएका छन् ।

घर-घरमा खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुसी भएको उपभोक्ता समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङले बताए । ‘खानेपानीको अभावमा घण्टौ समय खर्चिएर पधेंरा, कुवामा पानी लिन जानुपर्ने बाँध्यता हटेको छ’, उनले भने, ‘स्थानीयवासीलाई घरमै धारा जडानपछि सहज भएको छ । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले दुःख बेहोर्नुपर्‍यो, अब त्यस्तो समस्या आउँदैन होला ।’

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँमार्फत् निर्माण गरिएको आहालडाँडा लोलार लिफ्टिङ योजना म्याद भन्दा छ महिना अगाडी निर्माण सम्पन्न भएको बताइएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र आयोजना निर्माण गर्ने म्याद रहेको डिभिजन कार्यालयका इन्जिनियर बामदेव पौडेलले बताए ।

कार्यालयको ९१ लाख ६६ हजार रुपैयाँको लागत अनुमान रहेपनि ५१ लाख रुपैयाँ आयोजना निर्माण सम्पन्न भएको इन्जिनियर पौडेलले बताए । यस खानेपानी आयोजनाबाट ३२ घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस्तै, खानेपानी योजनाको शुक्रबार उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले जनताको समस्या समाधानका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारले प्रदेशका जनताको महत्वपूर्ण आवश्यकता तथा समस्या समाधानमा लागिपरेको बताउँदै उनले प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियान अन्तर्गत पानीको समस्या रहेको यस क्षेत्रमा धारा जडान गरी सहज जीवनयापनलाई सहयोग पुगेको छ ।’

खानेपानी सहज भएपछि पर्यटकीय क्षेत्र टुटेपानी क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने उनको भनाई छ । खानेपानी आयोजनाले नेपालकै उत्कृष्ट परिचय बनाएको टुटेपानी होमस्टेको पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्ने मन्त्री विश्वकर्माले विश्वास व्यक्त गरे ।

‘यो ठाउँ होमस्टेको लागि उपयुक्त गन्तव्य हो, यहाँका ठाउँ रमणीय छन्, यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको पाइएको छ’, उनले भने, ‘घर नजिकै पानी नहुँदा समस्या थियो, तर अब आयोजना निर्माण भएको छ, पानी लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।’

कार्यक्रममा गण्डकी प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले पानीको समस्या समाधान भएपछि यस क्षेत्रमा पर्यटक आगमन बढ्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker