विद्यार्थीलाई सुसंस्कार, जीवन तथा मानसिक स्वास्थ्य विषयक प्रशिक्षण
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित अरनिको माध्यमिक विद्यालयमा सुसंस्कार, जीवन तथा मानसिक स्वास्थ्य विषयक आधारभूत प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल शाकाहारी संघको आयोजना, आर्ट अफ लिभिङ नेपाल र मार्क नेपालको सहयोगमा शुक्रबार हाल विद्यार्थीहरूमा बढ्दै गईरहेको मानसिक निराशा, विकृति विसंगति, आत्महत्या, नशा दुर्व्यसनको विरुद्धमा ‘सुसंस्कार, जीवन तथा मानसिक स्वास्थ्य’ विषयक आधारभूत प्रशिक्षण कार्यक्रम नामक सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कञ्चन घिमिरेले उर्जाशील ज्ञानमूलक प्रवचन प्रशिक्षण पछि विद्यार्थीहरूको जीवनप्रतिको दृष्टिकोण बदलिएको, अभिभावकप्रतिको जिम्मेवारी ज्ञात भएको प्रतिक्रिया विद्यार्थीले दिएका थिए । मनोविद् गोपाल ढकालले विद्यार्थीका मनोसामाजिक समस्याहरूको विष्लेषण गरेका थिए।
नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले पशुपन्छिहरूप्रति मानिसले गर्ने गरेको हिंसा अत्याचार गलत भएको र मानिसको खानपान व्यवहारले मानिसको आफ्नै शारीरिक तथा मानसिक स्वास्थ्यमा विकृति ल्याउने विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानियाले समाजमा बढ्दै गएको विकृति विसंगति र दुर्व्यसनीमा फस्दै गएका युवालाइ सहि मार्गमा ल्याउन यस्ता कार्यक्रम फलदाई हुने विश्वास व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा करिब दुइ सय विद्यार्थी सहभागि भएका थिए ।










