मनहुँकोटको नजर : कुहिरोले ढाकेको दमौली, पहाडका तरेली र मनमोहक हिमश्रृंखला अनि ‘खानेपानीको समस्या !’
नारायण खड्का/तनहुँ

तनहुँको सदरमुकाम दमौली र व्यास नगरपालिकाको शिर जस्तै गरी ठडिएको छ मानहुँकोट । मादी र सेती नदीको संगम स्थल, व्यास पराशर ऋषिको तपोभूमिसंगै ऐतिहासिक, धार्मिक, साँस्कृतिक लगायत विविध पक्षले ओझिलो मानहुँकोट पछिल्लो समय घुमफिरमा रमाउनेहरुका लागि आकर्ष गन्तव्य बन्न थालेको छ ।
घुमफिरका साथै प्राकृतिक दृष्य अवलोकनमा रमाउन चाहनेहरुका लागि मानहुँकोट क्षेत्र अहिले रोजाइ र नयाँ गन्तव्य बन्न पुगेको छ । सदरमुकाम दमौलीबाट पश्चिमतिर करिब डेढ घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ । पृथ्वीराजमार्ग सडक खण्डको चापाघाटबाट करिब ७ किलोमिटरको दुरी पार गरेपश्चात कोटमा पुग्न सकिन्छ । मानहुँकोट पुग्न मोटरसाइकल र जिपमा करिब २०/२५ मिटनेको समयमा सजिलै पुग्न सकिन्छ ।
व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा फैलिएको सातसय मानहुँ क्षेत्रको विकास र ग्रामीण पर्यटन कार्यक्रम मार्फ स्थानीय बासिन्दाको आर्थिक, सामाजिक सशक्तिकरणमा महात्वपूर्ण योग्दान दिन थालेको छ ।

कोरोना भाइरस संक्रमण त्रासका कारण सुस्ताएका पर्यटकीय गन्तव्य खुल्दै गएका छन् । वर्षायाम सकिएर पर्यटकीय सिजन समेत सुरु हुन थालेपछि तनहुँका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आवागमन बढ्न थालेको छ ।
बिगत तीन वर्षदेखि सुस्ताएको पर्यटकीय गतिविधि विस्तारै लयम र्फकन थालेका छन् । वि.सं. २०७७ सालको दशै पर्व लगत्तै एकाएक चर्चामा आएको तनहुँको मानहुँकोटमा यस वर्षो दशैं पर्वसंगै पर्यटकीय चहलपल बढ्न थालेको छ ।
कोरोना भाइरस संक्रमण जोखिमकै बीच पनि हजारौंको संख्यामा आन्तरिक पर्यटक मानहुँकोट उक्लिएका थिए । मुलुकका विभिन्न कुनाकाप्चाबाट पर्यटकहरु मानहुँकोटको प्राकृतिक सुन्दरता अवलोकन गरी मनोरञ्जन लिन आउन थालेपछि उजाडिएको मानहुँकोटको चर्चा चुलिएको छ ।

दैनिक दुइ सय बढीका संख्यामा मानहुँकोटमै बासबस्ने गरी आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय सकुराम थापा बताउँछन् । आधारभूत आवश्यकाता समेत सहज रुपमा उपभोग गर्नबाट बञ्चित हुँदा बर्साईसर्राईले उजाडिएको मानहुँकोट अहिले आकर्ष पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदा सुकाराम मात्र होइन यहाँका बासिन्दा निकै उत्साहित छन् ।
पर्यटक आउँदा गाउँमै व्यापार व्यवसाय चलेको छ, आम्दानी हुन थालेको भएपनि स्थानीयले खानेपानीको सास्ती झेल्नुपरेको उनिहरुको अर्को पीडा भने अन्त्य हुन सकेको छैन ।
पहाडी उच्च भू-धरातलका कारण खानेपानीको समस्या, बर्साई सर्राईले उजाडिएको गाउँबस्ति, स्तरीय सडकको अभाव, पर्यटन सम्बन्धी चेतना, प्रचार प्रसारको अभाव जस्ता कारणले ओझेलमा परेको मानहुँकोट अहिले चर्चामा छ ।

ऋषिमुनिको तपोभूमि मानिने मानहुँकोट आदिकवि भानुभक्त आचार्यको मावली गाउँ पनि हो । यस क्षेत्रमा मगर समुदायको बसोवास रहेको छ । मगर संस्कृति अध्ययन र रमाउन चाहनेका लागि पनि यस क्षेत्र गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । मानहुँ क्षेत्र घुम्न तथा रमाउन पर्यटकहरु आउन थालेपछि स्थानीयले होटल तथा होमस्टे पनि सञ्चालन गर्न थालेका छन् ।
पर्यटकलाई आकषिर्त गर्न मानहुँकोटमा साहसिक हवाई खेल प्याराग्लाइडिङको उडान सञ्चालन गर्न सफल परीक्षण गरिएपनि त्यो सुचारु हुन सकेको छैन । पर्यटन विकास समिति तनहुँले जिल्लाका पर्यटकीय क्षेत्र घुमघाम रुचाउनेका लागि बनाएको २/३ दिनको प्याकेजमा मानहुँकोटसँगै दमौली र वरपरका क्षेत्रलाई समावेश गरेको छ ।

त्यस्तै, व्यास परासर क्षेत्रको पुलबाट हाइकिङमा मानहुँकोटको रुट तयार पारिएको समितिका अध्यक्ष हरिसिं गुरुङले बताउँछन् । ‘आँखाले भ्याएसम्म लहरै हिमाल, तल तरेली परेका फाँट, हरिया डाँडाकाँडा, दमौली बजार, व्यास पराशर क्षेत्र देखिने भएकाले एकपल्ट मानहुङकोट पुगेको मान्छे फेरि जान रुचाउँछ,’ उनले भने, ‘यो रुटमा हेर्ने कुरा पनि धेरै छन् । हामीले बनाएको प्याकेजमा घुम्नेहरू विस्तारै बढेका छन् ।’
मानहुँकोटमा पुग्ने पर्यटक होमस्टेमा बास बसेर छाब्दीवाराही मन्दिर, व्यास परासर क्षेत्र, निर्माणाधीन तनहुँ हाइड्रोपावर हेर्दै घुम्न सक्ने उनले बताए । यस क्षेत्रमा परम्पारगत लोक संस्कृतिका साथै भेषभूषा समेत अवलोकनका साथै रमाइलो गर्न पाइन्छ । यहाँ मगर समुदायका खानाका परिकारको उपभोगका साथै, कौराहा, झाझुरा जस्ता साँस्कृतिक कार्यक्रम रम्न र रमाउन पाइन्छ ।
विविध आयामले भरिपूर्ण भएपनि मानहुँकोटको यात्रा र गन्तव्यलाई अझै सहज बनाउन सडकको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ । साथै, खानेपानीको पनि समस्या भएको हुँदा लिफ्ट प्रविधिको प्रयोग गरी पानीको व्यवस्था मिलाउन सके यहाँ रम्ने र रमाउन चाहने पर्यटकको बसाइलाई थप लम्ब्याउन सकिन्छ ।

दमौली बजारबाट सबै भन्दा नजिकको आकर्ष गन्तव्यका रुपमा रहेको मानहुँकोट र मानहुँ क्षेत्रको विकासका साथै स्थानीय बासिन्दालाई गाउँमै स्वरोजगारको वातावरण बनाउन ग्रामीण पर्यटनको कार्यक्रमलाई अगाडि बढाउन अति आवश्यक देखिन्छ ।
आधारभूत सेवा सुविधा समेत सहज रुपमा उपभोग गर्न नपाएपछि बस्ती नै रित्तिसकेको यो डाँडोमा अहिले पर्यटकको चापलाई व्यवस्थापन गर्न गाह्रो भएको स्थानीय रेवती आले बताउँछिन् । गाउँ छाडेर बेसी तथा बजार क्षेत्र झरेका स्थानीयहरु अहिले पुनः गाउँ फर्किएर होटल, होमस्टे व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी समेत लिन थालेका छन् ।
स्थानीय रेवतीले भनिन्, ‘केही समयअघिसम्म उपेक्षित मानहुँकोटमा हिजोआज दिनमै सयौंको संख्यामा मानिसहरु आउन थालेका छन् । सडक विस्तार हुनुका साथै विद्युत र सञ्चारको सुविधा भएपनि खानेपानीको समस्या समाधान नहुँदा आउने पर्यटकलाई व्यवस्थापनमा समस्या पर्ने गरेको छ ।’

प्राकृतिक दृष्य अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रुपमा तनहुँलाई पनि लिइन्छ । व्यास नगरपालिकाको वडा नं. ५ मा रहेको मानहुँकोट प्रकृतिसंग रम्नेका लागि आकर्षक गन्तव्य हो । सफा मौसममा खुलेको निलो आकाश, उत्तरतर्फलहरै मिलेर बसेका सेताम्मे हिमश्रृंखला, हरिया पहाडका तरेली, चिसो मौसमसंगै सेतो कुहिरोले ढपक्क ढाकिएका बेसी, उपत्यकामा उदाउँदो र अस्ताउँदो सूर्यको मनमोहक दृष्य यहाँको आकर्षा हो ।
यीनै मनमोहक दृष्य एकाएक टिकटक, फेसबुक, यूट्युव जस्ता सामाजिक सञ्जालमा भाइरल भएपछि यहाँ पर्यटकको आगमन बढेको छ । विशेष गरी तनहुँको सदरमुकाम दमौली अर्थात व्यास परासर क्षेत्रको शिर बनेर ठडिएको मानहुँकोट क्षेत्रको विकास तथा सरसफाई, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने मानुहुँकोट घुम्न पुगेका आन्तरिक पर्यटक गल गुरुङ बताउँछन् ।

मानहुँकोटलाई नगरपालिकाले पर्यटकीय स्थलका रुपमा लिएपनि पर्यटकलाई आव्हान भने गरेको थिएन । तर एकाएक पर्यटकको संख्या हृवात्तै बढेपछि पर्यटक लक्षित भौतिक पूर्वधार निर्माणकार्यलाई अगाडि बढाएको वडा नं. वडाध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् । उनले भने, र्’पर्यटकको चाप बढेपछि व्यास नगरपालिकाले मानहुँमा थप पर्यटन विकास गर्ने योजनाका साथ दीर्घकालीन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने तयारी गरेको छ ।’
मानहुँकोटमा पर्यटक बढ्न थालेपछि नगरपालिकाले २५ लाख रुपैयाँको लागतमा भिरपट्टीको क्षेत्रमा बार लगाइसकेको छ । वरपरको दृष्यावलोकनका लागि २७ लाख रुपैयाँ खर्चिएर ‘भ्यु प्वाइन्ट’ पनि निर्माण गरेको छ । मुख्य गरी खानेपानीको समस्या रहेको मानहुँमा लिफ्ट प्रविधिबाट पानी ल्याउने र सार्वजनिक शौचालय निर्माण तथा फोहोर मैला व्यवस्थापनको कार्यलाई नगरपालिकाले ध्यान दिनुपर्ने देखिएको छ ।

मानहुङकोटको आकर्षण
– आँखाले भ्याएसम्म लहरै मिलेको हिमाली दृष्यावलोकन
– तल तरेली परेका फाँट, हरिया डाँडाकाँडा
– दमौली बजार, व्यास पराशर क्षेत्र
– प्याराग्लाइडिङ्ग, निर्माणाधिन तनहुँ हाइडूोपावर
– मगर समुदायको संस्कृतिका साथमा खानाका परिकार
– हाईकिङ्ग (पदयात्रा)











