स्थानीय पाठ्यक्रम कार्यान्वयनको चरणमा भानु नगरपालिका

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले तय गरेको विद्यालय शिक्षाको मार्गचित्रमा आधारित भई विद्यालय तहमा नयाँ एकीकृत पाठ्यक्रम लागु गरेको छ । उक्त पाठ्यक्रम अनुसार आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय विषयको रुपमा पठनपाठन गर्नुपर्ने उल्लेख रहेको छ ।

स्थानीय पाठ्यक्रम कक्षा १-३ मा साप्ताहिक पाठ्यघण्टा ५ र वाषिर्क कार्यघण्टा १६० तथा कक्षा ४ देखि ८ सम्म साप्ताहिक पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ तोकिएको भानुका शिक्षा अधिकारी ध्रुव राज पौडेलले जानकारी गराए ।

यसै विषयलाई भानु नगर शिक्षा समितिले भानु नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि एक कार्यदल समेत गठन गरी यसमा काम गरिरहेको उनले बताए ।

‘पाठ्यक्रम निर्माण गर्ने कार्य अत्यन्त जटिल र नितान्त प्राविधिक विषय भएकोले यसका लागि केही समय लागेको छ’, उनले भने, ‘भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा भानु नगरपालिका शिक्षा ऐन, शिक्षा नियमावली, नगर शिक्षा योजना, शैक्षिक क्यालेण्डर तथा शिक्षक डायरी निर्माण, नगरस्तरीय परीक्षा कक्षा ८, एसइइ परीक्षा लगायतका कामका अतिरिक्त आसन्न स्थानीय तहको निर्वाचनको तयारी लगायतका काममा लाग्नुपर्ने भएकोले केही समय ढिलाइ हुन गएको छ ।’

शैक्षिक सत्र २०७९ देखि भानु नगरपालिकामा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय भैसकेकोले यस पाठ्यक्रमको निर्माण तथा वितरण गर्ने हाम्रो दायित्व हो भन्ने कुरालाई आत्मसात गर्दै केही समयदेखि प्राविधिक समितिले अहोरात्र खटेर स्थानीय पाठ्यक्रम निर्माणको काम द्रुत गतिमा अघि बढाएको र यो कार्यको अन्तिम चरणमा पुगिसकेको नगर शिक्षा अधिकारी पौडेलले बताए ।

सरोकारवालाहरुसँगको छलफल, अन्तरक्रिया तथा सुझाव एवं पृष्ठपोषणका आधारमा तयार गरिएको भानु नगरपालिकाको आफ्नो मौलिक पहिचान झल्कने ‘हाम्रो भानु’ नामक स्थानीय पाठ्यक्रम चालु शैक्षिक सत्र २०७९ को शुरुदेखि नै भानुका सबै विद्यालयहरुमा लागु हुने उनले बताए ।

अतः सबै विद्यालयहरुले साविकमा स्थानीय पाठ्यक्रमको रुपमा वा सोको सट्टामा, सप्लिमेन्ट विषयको रूपमा प्रयोग गरिरहेको निजी प्रकाशनका पाठ्यसामग्रीहरु खरीद नगर्नु नगराउनु अनुरोध गरिएको छ ।

यस्तै, भानु नगरपालिकाले यसवर्ष स्थानीय पाठ्यक्रम सबै विद्यालयहरुमा उपलब्ध गराउने र आगामी आर्थिक वर्षमा यसै पाठ्यक्रम बमोजिम सबै कक्षाका पाठ्यपुस्तकहरु समेत निर्माण भई वितरण गरिने भएको छ ।

चालु शैक्षिक सत्रमा नयाँ स्थानीय पाठ्यक्रमलाई हाम्रा शिक्षक वर्गको क्षमता, अनुभव र सिर्जनशीलताको उपयोग गरी यसको प्रभावकारी रुपमा कार्यान्वयन गरी यस कार्यमा सहयोग गर्दै राष्ट्रिय अभियानलाई सफल बनाउन सम्पूर्ण विद्यालय, प्रधानाध्यापक, शिक्षक वर्ग तथा सम्बद्ध सबै पक्षहरुमा नगर शिक्षा अधिकारीले अनुरोध गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker