नयाँ वर्षको हार्दिक शुभकामना : ४०औं वर्ष प्रवेश गरेको भञ्ज्याङ !
नारायण खड्का

आज वि.सं. २०७८ वैशाख १ गते । आजका दिनबाट भञ्ज्याङको आफ्नो प्रकाशन यात्रा ४०औं वर्षा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा आफ्नो प्रकाशन यात्रा शुरु गरेको भञ्ज्याङले वि.सं. २०५९ सालमा तनहुँको दमौलीबाट दैनिक रुपमा प्रकाशन शुभारम्भ गरेको थियो । विभिन्न आरोह अवरोधका बीच यो यात्रा तय गर्नु आफैमा चुनौतीपूर्ण थियो र छ ।
तनहुँको सदरमुकाम दमौलीबाट भञ्ज्याङ पब्लिकेशन प्रा.लि. मार्फ प्रकाशित हुँदै आएको भञ्ज्याङ दैनिक पत्रिकाले बिगतका घटना र वर्तमानका परिकल्पनालाई फर्किएर हेर्दा धेरै उतारचढाभका साथै संघर्षशिल इतिहास बनाएको र बन्न पुगेको छ । मुलुकमा भएका विभिन्न कालखण्डहरुमा जोखिमको सामनासँगै समाधानको खोजी गर्दै आमपाठकको चाहानालाई साथ र सहकार्य गर्दै भञ्ज्याङले आफ्नो यात्रा निरन्तर अगाडि बढाउँदै आएको छ । परिवर्तनका निम्ति मुलुकमा भईरहने राजनीतिक मुद्दाले बेलाबखत उथलपुथल बनाउने गरेको छ ।
अहिले मुलुक संघीय संरचनामा अगाडि बढेको छ । बिगतका घटनाक्रमलाई तुलनात्मक रुपमा वर्णन गर्ने अवस्था भने छैन । नेपाल र नेपाली जनतामाझ जोडिएको विकास निर्माण र संमृद्धिका लागि भएका संघर्षले नै प्राप्त संघ, प्रदेश र स्थानीय तहको संरचना तयार भएका छन् । मुलुकको भौगोलिक बिबिधता, सांस्कृतिक, जातीय पहिचानका भेषभुषा जीवनत राख्नु देशको पहिचान हो । यो पहिचानलाई आत्मसाथ गर्दै भञ्ज्याङले साथमा साथ र काँधमा काँध मिलाएर अगाडि बढ्दै आएको छ ।
प्राकृतिक सौर्न्दर्यताले भरिपूर्ण हिमाल, पहाड र तराइसम्म बसोवास गर्ने आम नेपालीलाई सिंहदरबारको अधिकार घरआँगनसम्म पुर्याउने लक्ष्यका साथ अहिले मुलुक संघीय संरचनाको अभ्यास गर्दैछ । निर्वाचित जनप्रतिनिधिहरु पनि मुलुकको संविधानले दिएको अधिकारलाई परिचालित गर्न सोही रुपमा कार्यस्थलमा खटिएका छन् । तर, अहिलेको वर्तमान अवस्था अल्लि फरक देखिएको छ । मुलुकको राजनीतिक घटनाक्रमले जनताका जुन आशा, अपेक्षा र चाहाना थिए त्यसमा कतै ठेस लाग्ने त होइन – शंका र प्रश्न खडा भएको छ ।
यस पत्रिकाले ४०औं खुड्किलो टेक्दै गर्दा आधुनिक प्रविधिका साथै नयाँ मिडियाले आफ्नो पकड जमाइसकेको अवस्था छ । प्रविधिका कारण सेकेण्ड भरमा दुनियाको खबर सबैको पहुँचमा पुग्न थालेका छन् । प्रविधिको विकाससंगै लिथो, लेटर प्रेस हुँदै पोलि र मेटल प्लेटसंगै अहिले आधुनिक मेशिनबाट छापा माध्यमका पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएका छन् । तर, प्रविधिको विकासले पछिल्लो समय छापा सञ्चारका माध्यमलाई भने केही चुनौती थप्नुका साथै थप परिस्कृत हुन सचेत पनि गराएको छ ।
सत्य, तथ्यमा आधारित रहि मुलुकभर छरिएका सामाग्रि टिपनटापन गर्दै ३९ वर्ष अघिदेखि भञ्ज्याङ पत्रिका अनवरत यात्रामा रहिरह्यो । टुक्राटुक्रा हत्केलामा जम्मा गर्दै यथार्तपरक रुपले आम नागरिकको हातहातमा पुगि रहेको छ। व्यक्तिविशेष पत्रकारिता नभई स्वतन्त्रतापूर्वक विषयगत बस्तुलाई प्राथमिकतामा राखि प्रकाशन माध्यमद्वारा पाठकको माझमा छर्लङ्ग हुने प्रयास निरन्तर चल्दै छ र चलिरहने छ। शहरदेखि ग्रामीण बस्तिसम्म सम्भावना बोकेका सम्भावित स्थानलाई ग्रामीण पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय कला संस्कृतिको संरक्षण, प्रवर्द्धनका साथै विकास निर्माणमा हुने अनियमितताका विषयमा खबरदारी गर्दै सम्बन्धित निकायलाई घच्घचाउने कार्य भञ्ज्याङ पत्रिकाले गर्दै आईरहेको छ ।
यसरी नै उकाली र ओराली हिड्दै गरेका यात्रीले थकाई मार्न भञ्ज्याङ चौतारीमा बिश्राम गर्नेका दुःख, पीडालाई समेटेर राख्ने गरेको छ । ४०औं वर्षप्रवेशका अवसरमा प्रकाशित भएको यस विशेषाङ्कमा हामीले मुख्यत तनहुँ जिल्लाको पर्यटनका विषयवस्तुलाई समेट्ने जमर्को गरेका छौं। बिगत एक वर्षेखि हाम्रो पर्यटन क्षेत्र कोरोना कहरको चपेटामा परी थला परेको छ। जिल्लाका १० वटै पालिकाले पर्यटन क्षेत्रमा के कस्ता गतिविधिलाई प्राथमिकतामा राखेका छन् र पर्यटनकै माध्यमबाट स्थानीय स्तरमा रोजगारीको वातावरण सृजना हुन सक्ने अवस्था छ वा छैन र आर्थिक समृद्धिको पाटोलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय नै यो विशेषाङ्कको प्राथमिकतामा रहेको छ ।
हामीले समयानुकुल मुलुकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै संघीय लोकतान्त्रिक पद्धतिको जनहित प्रणाली स्थायीत्वप्रति जनताले उपभोग गर्न पाउनु पर्छ जस्ता विविध बिषय उजागर गर्दै आएका छौं । आगामी दिनमा समेत पत्रकारिताको माध्यमसँगै निरन्तरताका पाईला अघि बढि रहनेछ । आम जनताका आवाजलाई अझै मुखरित गर्न प्रतिवद्ध रहने छौं । भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित भञ्ज्याङ राष्ट्रिय दैनिकले प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राखि न्यू मिडिया अन्तरगत वेवसाइट, सामाजिक सञ्जालहरुमा फेसबुक पेज, ट्वीटर, युटुव च्यानल मार्फ पनि पाठकहरुलाई आफ्ना प्रकाशनका साथै छिटो छरितो विश्वासिला समाचार तथा सूचना प्रवाह गर्दै आएको छ ।
हाम्रो ४०औं वर्षप्रवेशको सन्दर्भमा यस विषेशाङ्कालाई लेख, रचना, शुभकामना, विज्ञापन, सूचना उपलब्ध गराउनु हुने लेखक, पाठक, विज्ञापनदाता, विभिन्न संघ संस्था सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौं । हरेक बर्षपुरानो हुँदै जाने तर स्मरण योग्य हुनाले प्रत्येक नयाँ बर्षजन्मिन्छ । भञ्ज्याङ दैनिकको यो विषेशाङ्क पनि आशा र समिक्षाका लागि पाठक माझ सुम्पिएका छौं । विगतमा जस्तै आगामि दिनमा पनि पाठक, विज्ञापनदाता, सकारात्मक आलोचक, शुभचिन्तकहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं । नयाँ बर्ष२०७८ ले सबैमा सुख, शान्ति, सु-स्वास्थ्य, संमृद्धि प्रदान गरोस्, मुलुकलाई समृद्धिको बाटो तर्फउन्मुख हुन सबै क्षेत्रबाट सकरात्मक पहल होस् हाम्रो पनि शुभकामना ।










