व्यासका ८९१ जना अपाङ्गता भएकालाई परिचयपत्र वितरण

तनहुँको व्यास नगरपालिकाले हालसम्म ८९१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा आठ सय २१ र गत आर्थिक वर्षमा ७० जनालाई परिचयपत्र वितरण गरेको हो ।
निवेदकले कार्यालयमा निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको बैठकले व्यक्तिको शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरिएको नगरपालिकाको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ ।
आव २०७९/८० मा ८२१ जनाले अपाङ्गता परिचयपत्र लिएका उपशाखाकी सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिए । उनका अनुसार ‘क’ वर्गका एक सय ३६, ‘ख’ वर्गका ३५१, ‘ग’ वर्गका २२० र ‘घ’ वर्गका ११४ जना छन् । गत आवमा ‘क’ वर्गका ११, ‘ख’ वर्गका २७, ‘ग’ वर्गका २४ र ‘घ’ वर्गका आठ जनाले परचयपत्र लिएका उनले बताइन ।
संघीय सरकारबाट ‘क’ वर्गका अपाङ्गता भएकलाई मासिक रु तीन हजार ९९०, ‘ख’ वर्गलाई रु दुई हजार १२८ र ‘ग’ वर्गकालाई व्यास नगरपालिकाले वार्षिक रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ ।
‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको सुविधा नभएपनि स्वास्थ्य, यातायात लगायत सेवासुविधा पाउन सहज हुने सहायक महिला विकास निरीक्षक जम्मरकट्टेलले बताइन । चिकित्सक, नेपाल प्रहरी, अपाङ्गता क्षेत्रबाट तीन र बहिरा संस्थाबाट एक जनाको सहभागितामा समितिको बैठकमा बसेर परिचयपत्र वितरण गरिएको उनले बताइन ।
नगरभित्रका अपाङ्गता भएका व्यक्तिमध्येबाट समन्वय समितिले मनोनयन गरेका एक महिला सदस्यसहित तीनजनाको सहभागी हुने प्रावधान रहेको सो शाखाले जनाएको छ ।










