पाडीबाच्छी हुर्काउने तनहुँका कृषकलाई अनुदान

सानेबहादुर नेपाली

पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ ।

तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको हो । “यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु १० हजारका दरले अनुदान दिइने छ”, केन्द्रका प्रमुख डा बालकु्मार श्रेष्ठले भन्नुभयो, .“किसानलाई अनुदान दिएपछि पाडीबाच्छी हुर्काउन सहज भएको छ ।” उहाँका अनुसार पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान दिन चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ ।

“अनुदान पाउनका लागि कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुनुपर्छ”, उहाँले भन्नुभयो, “एक किसानलाई बढीमा पाँच वटा पाडीबाच्छीसम्म हुर्काउन रु ५० हजार प्रोत्साहन रकम प्रदान गरिएको छ ।” चालु आर्थिक वर्षका लागि करिब १०० वटा पाडीबाच्छी हुर्काउनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट प्राप्त भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पाडीबाच्छी हुर्काउनका लागि लामो समय पाल्नुपर्ने र खर्चिलो हुने भएकाले किसानलाई प्रोत्साहन गरिएको हो ।”

कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमसँगै पछिल्लो समय युवा पुस्ता कृषि एवं पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा पशुपालनमा केन्द्रले कार्ययोजना बनाई अनुदान दिन थालेपछि धेरैजसो सर्वसाधारण कृषि तथा पशुपालनमा आकर्षित भएको ठम्याई केन्द्रको छ । बाँझो जमिनमा घाँस लगाई जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने जमात बाक्लिदैं गएको छ । यसले कृषि तथा पशुपालनमा क्षेत्रमा प्रतिस्पर्धासँगै व्यवसायिकतातर्फ उन्मुख रहेको विश्वास केन्द्रले गरेको छ । अनुदानले किसानलाई राहत र उत्साहित बनाएको छ ।

पाडीबाच्छी लोप हुँदै जाँदा दुग्ध उत्पादनमा समेत असर पर्ने भएकाले यसको संरक्षण एवं सम्वद्र्धन गर्न लागिएको प्रमुख श्रेष्ठको भनाइ छ । जिल्लाको बन्दीपुर, व्यास नगरपालिका र भानु नगरपालिकामा पाडीबाच्छी हुर्काइ स्रोत केन्द्र स्थापना गरिएको हो । गत आर्थिक वर्षमा जिल्लाका १८१ किसानले ३०८ वटा पाडीबाच्छी हुर्काउँदा लाभान्वित भएका थिए । उक्त कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाख्रा तीन लाख ८७ हजार, भैँसी ५६ हजार ४७२, गाई ५१ हजार र भेडा ७०० छन् । पछिल्लो समय गाईको सङ्ख्या घट्दै गएको जनाइएको छ ।

त्यसैगरी पछिल्लो समय बट्टाई, कालिज, टर्की, लोकल कुखुरा, लेयर्स कुखुरापालनतर्फ किसानको आर्कषण बढ्दै गएको सो कार्यालयले जनाएको छ । जिल्लामा पशुपालन किसानको वृद्धिसँगै दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । माछामा समेत जिल्लालाई आत्मनिर्भर बनाउनका लागि प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ ।

यसैगरी कार्यालयले पशु सेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरणजस्ता कार्यहरु सञ्चालन गर्दै आएको छ । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्नेजस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन परिचालन गरिएको केन्द्रले जनाएको छ । पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनका लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा. श्रेष्ठको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker