भानुमा पशुपन्छीलाई घरदैलोमै खोप, संक्रामक रोग नियन्त्रणका लागि खोपकर्ता वडा–वडामा परिचालन

भानु : पशुजन्य संक्रामक रोगको जोखिम न्यूनीकरण तथा पशुधन संरक्षणका लागि तनहुँको भानु नगरपालिकाले पशुपन्छीलाई नियमित खोप लगाउने अभियान सञ्चालन गरेको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको समन्वयमा खोपकर्तालाई वडा–वडामा परिचालन गरिएको हो ।
खोप अभियान सञ्चालन गर्नुअघि नगरपालिकाले खोपकर्ताका लागि खोप सञ्चालन, सुरक्षित व्यवस्थापन र अभिलेख राख्ने प्रक्रियाबारे अभिमुखीकरण गरेको छ । अभिमुखीकरणपछि खोपकर्ता तोकिएको कार्यक्षेत्रमा परिचालित भएका छन् ।
कार्यक्रममा खोपको सुरक्षित भण्डारण तथा व्यवस्थापन, सही विधिबाट खोप लगाउने तरिका, खोप लगाउने उपयुक्त समय, पशु स्वास्थ्यमा खोपको महत्व तथा खोपसम्बन्धी आवश्यक अभिलेख व्यवस्थापनका विषयमा जानकारी दिइएको थियो ।
खोपकर्तालाई नगरपालिकाले आवश्यक भ्याक्सिन तथा सामग्री उपलब्ध गराउँदै कार्यक्षेत्रसमेत विभाजन गरेको छ । तोकिएको वडा तथा कार्ययोजनाअनुसार खोपकर्ताले कृषकका घरदैलोमै पुगेर पशुपन्छीलाई खोप लगाउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
खोप लगाइएका पशुपन्छीको विवरणसमेत व्यवस्थित रूपमा अभिलेखमा राखिनेछ। यसबाट कुन क्षेत्रमा कति पशुपन्छीलाई खोप लगाइयो भन्ने विवरण अद्यावधिक गर्न तथा भविष्यमा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सहज हुने नगरपालिकाको अपेक्षा छ ।
पशुजन्य संक्रामक रोगका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको जोखिम न्यूनीकरणमा जोड दिनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ । नियमित खोपले पशुपन्छीलाई विभिन्न संक्रामक रोगबाट जोगाउन तथा पशुधनको उत्पादनशीलता कायम राख्न सहयोग पु¥याउने नगरपालिकाले जनाएको छ ।
भानु नगरपालिकाले पशुपन्छीपालनलाई कृषकको आयआर्जनसँग जोड्दै आएको छ। पशुपन्छीमा फैलिन सक्ने संक्रामक रोग नियन्त्रण, पशुधनको संरक्षण र रोगका कारण हुने आर्थिक क्षति न्यूनीकरणका लागि नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ ।
घरदैलोमै पुगेर खोप सेवा उपलब्ध गराउने भएपछि कृषकलाई पशुपन्छी लिएर स्वास्थ्य केन्द्र वा अन्य स्थानमा लैजानुपर्ने बाध्यता पनि कम हुने भएको छ । नगरपालिकाले खोप अभियानमा आवश्यक सहयोग गर्न तथा आफ्ना पशुपन्छीलाई तोकिएको समयमा अनिवार्य रूपमा खोप लगाउन कृषकलाई आग्रह गरेको छ ।










