तनहुँका दरै समुदायको न्यायीक प्रणाली, न्याय चौतारी, घुमाउने घर र शिक्षाप्रतिको अभिरुचि

देव बस्न्यात

विषय प्रवेश
वि.सं. २०२८ देखि २०३२ सालसम्म तनहुँ नयाँ नापीको काम सम्पन्न नहुँदासम्म तनहुँका दरै समुदाय किपटिया मानिन्थे । उनीहरुले कमाइ गर्दै आएको जग्गा जमिन प्रायः सबै लालबिहार गुठी अन्तरगत परेका थिए। तनहुँको समग्र सुरक्षा प्रणाली तनहुँसुर दरबारमा रहेता पनि दरैहरुमा विद्यामान रहेका साँस्कृतिक मुद्दाहरु गाउँपालिका तथा अदालतसम्म लैजाने परम्परा थिएन। बाइसी चौबिसीकालमा तनहुँका सेन राजाहरुले तनहुँसुरको गद्धीचौतारामा बसेर निर्णय गर्दथे भने यहाँका दरैहरुले आफ्ना बीच भएका झैझगडा, कुटपिट, विहेवारी र अन्य साँस्कृतिक विषयमा नयाँ दर कायम गर्ने, जरिवाना लगायतका नेग कतिसम्म लिन पाउने कति नपाउने भनि तनहुँ जिल्लाको सदरमुकाम रहेको स्थान दमौली बजार नजिकै रहेको डिहीगाउँमा अवस्थित घर्ती चौतारामा बसेर यहाँका मुखिया तथा महामुखियाहरुले न्यायनिसाफ एवं दण्ड संजाय गर्ने भएकाले यसलाई सांस्कृतिक न्यायचौतारी भन्ने गरिन्थ्यो । कालान्तरमा त्यही चौतारालाई घर्ती चौतारा भनेर सम्बोधन गर्ने परम्परा जीवन्त रहुँदै आएको छ । वि.सं. १९४७ सालसम्म चल्दै आएको अमाली प्रथा फराकचौरका अमाली डिट्ठा महावीर अधिकारीले सम्हाल्दै आएकोमा उक्त प्रथा अहिले पुरै खारेज हुन पुगेको छ ।

मासिन्या मतवाली

दरैहरुको न्यायीक चौतारालाई घर्ती चौतारा भनिनुमा राई एवं दरैहरु बीचको एउट छुट्टै कहानी रहेको छ । राई र दरैहरुमा दाजुको मरणोपरान्त भाउजु सिहार्ने परम्परागत संस्कार थियो नै र अहिले पनि कताकति यो प्रथा जीवन्त देख्न सकिन्छ । तथापि अहिलेका नयाँ पुस्तामा यो प्रथा पूर्णत बन्द नै हुन पुगेको पाउँदछौं  । जब श्री ३ जङ्गबहादुर राणा ब्रिटिसको यात्रा गरेर नेपाल फर्किए तब देश सञ्चालनका लागि नयाँ कानुन जारी गर्ने विचार गरे । नभन्दै जङ्गबहादुर कुँवरले वि.सं. १९१० मा नेपालमा नयाँ मुलुकी ऐन जारी गरे । जारी गरिएको मुलुकी ऐन १९१० को मासिन्या अमालीले लिन्याको महलमा मतवाली मासिन्या र मतवाली नमासिन्याको व्यवस्था गरे। जस्मा भोट्या (तमाङ), चेपाङ, हापु, दराइ, कुमाल, पहरी गैह्र मासिन्या जात भन्ने उल्लेख गरेको पाउँदछौं । मासिन्या मतवाली भन्नाले माथि उल्लेख गरिएका जातिका मान्छेहरुले राज्यविरुद्ध गम्भिर गल्ती गरेको महसुस लागेमा त्यस्तो अपराधमा त्यस्ता थरघरका मानिसहरुलाई मृत्युदण्डको सञ्जायसम्म दिने गरिन्थ्यो । नेपाल एकीकरण हुनु पूर्वसम्म गुरुङ, मगर, राइ, लिम्बु र किराँतहरु पनि मतवाली मासिन्या जातमा पर्दथे । नेपाल एकीकरणको सिलसिलामा मगर गुरुङहरुले गोरखाली सेनालाई युद्ध मैदानमा सक्दो सहयोग गरेका हुनाले वि.सं. १८८३ देखि र किरात मध्येको दनुवारहरुलाई वि.सं. १९०३ देखि नमासिन्या जातमा पारिएको हो ।
यसरी नेपालको मुलुकी ऐनमा मासिन्या र नमासिन्या जातिमा विभाजनको स्पष्ट रेखा कोरिन पुग्यो । मासिन्याहरुमा तमाङ, दराइ, कुमाल र बोटे लगायतका थरघरहरु पर्दथे । वि.सं. १८९३ को रुक्कामा  भाउजुलाई आमा सरह मान्नु पर्ने नियम बनाइयो । उक्त ऐनमा कथंकदाचित कसैले दाजुको मरणोपरान्त भाउजु सिहारेमा या भाउजु माथि करणी गरी विराउन्या काम गरेमा त्यस्तो ब्यक्तिलाई मृत्युदण्डसम्मको सञ्जायको व्यवस्था गरिएको थियो । सरदार बहादुर सुबेदार जङ्गवीर लामाको अग्रसरतामा प्रधानमन्त्री तथा श्री ३ महराज भीम शमशेर ज.व.रा.ले श्री ५ मा विन्तिपत्र जाहेर गरेपछि मात्र श्री ५ त्रिभूवनले भोटेहरुले तमाङ थर लेख्न पाउने लालमोहर गरी दिनु भएको इतिहास साक्षी छ ।
वि.सं. १९८९ कोे भाद्र ६ गतेका दिन ३२ दरै गाउँ निवासी यने दराइलाई पनि सोही ऐनको दफा प्रयोग गरी मृत्युदण्डको सञ्जायको व्यवस्था गरियो । सेनराज्य कालदेखि आफुले पाएको हक अधिकार यथावत लागु हुनु पर्ने कुरामा दराइहरुले जोड दिए । आफुहरुको पुरानो रुक्का तथा लालमोहोरको आधारमा दराई–दराइहरुको बीचको मुद्दामामिला दराइहरुका मिझाँरहरुले नै हेर्न पाउने निर्णय भयो । सोही अनुसार दराईहरुका मिझारहरुले यने दराईलाई मृत्युदण्ड सँजायको माफ गरी सो को विकल्पमा नीजलाई तल्लो श्रेणीको घर्ती दराई भएको घोषणा गरे । भाउजु करणी बिराउन्य काम गरेको अभियोगमा यने दरैलाई मुखिया र महामुखियाहरुको संयुक्त भेलाले अब उप्रान्त धर्मकर्म गर्नमा मन उत्प्रेरित हुँदै जाओस भनि दण्डसञ्जाय स्वरुप उस्लाई दराईहरुको मुद्धा मामिलाको न्याय निसाफ गर्ने चौतारा बनाउनु पर्ने निर्णय गरेका थिए। त्यही दिनदेखि यने दराईलाई दरैथरबाट घटुवा गरी करिया (नोकर बाँधा, कमारो) बनाएकाले बिस्तारै उस्लाई घर्ती दरै भनेर बोलाउन थालियो । आफ्नो दरै जातिमा घर्ती उपथर पाउने प्रथम पुरुष यने दरै रहेको खुलासा हुन पुगेको छ ।
तनहुँसुर दरवारमा बुझाउनु पर्ने ३२ ठेकीका सरसामानहरु त्यही यने दरैका पालादेखि आज भन्दा ५० वर्ष अगाडिसम्म नीजका वंशजहरुले बोकेर लैजाने परम्परा रहेको कुरा यम बहादुर दरैले बताए । यने नामको घर्ती दरैले बनाएको चौतारो हुनाले आज पर्यन्त यस चौतारालाई घर्ती चौतारा भन्ने गरेको कुरा डिहीगाउँ दरै समाजका अध्यक्ष पदमबहादुर दरै र तनहुँ जिल्ला दरै समाजका अध्यक्ष ठाकुर दरैले हामीलाई बताए  ।

दरैहरुको घुमाउनेघर

घुमाउनेघर हरेक नेपालीहरुको राष्ट्रिय पहिचान हो । नेपालीहरु विशेषत शैव धर्मका अनुयायी हुन् । नेपालमा काशीकरण बढेपछि वैष्णव सम्प्रदायले आफ्नो प्रभाव बढाउँदै गएको हो । नेपालमा बैष्णव सम्प्रदायलाई जगेर्ना गर्ने प्रमुख दूतहरु पूर्वीय सभ्यताका ब्राह्मणहरु हुन् । शैव सम्प्रदायका कुमाई ब्राह्मण, खस तथा क्षत्री समुदाय, भोटबर्मेली परिवारका  गुरुङ, मगर, थकाली, तमाङ, दराई दनुवार, थारु र राई लिम्बुहरुले परम्परागत घुमाउने घर बनाउने गर्दथे ।  तत्कालीन समयमा हाम्रा पूर्वजहरुले घर बनाउँदा तीन कुराहरुलाई विशेष ध्यान दिंदै आएको हामीले महसुस गरेका छौं। आदर्श पूर्खाहरुलाई देवताको रुपमा पूजा गर्ने प्रणाली खसजातिको मात्र न भै खस इत्तर जातिको पनि संस्कृति हो र यो नै मूल इतिहासको स्मारक पनि हो । दरैहरुको घुमाउने घर बनाउनुमा निम्न कारणहरु प्रमुखकारक तत्वहरु मानिन्छन्।
क) धार्मिक आधारमा : “बाह्र कोशको परिक्रमा युक्त कैलाश वरिपरि चार दिशामा चारवटा परिवार दल अलि होचा हिमालचुली अरू छन् । माझमा देवल जस्तो सर्वतोभद्र कैलाश पर्वत छ । जताबाट हेरे पनि हिमगौर मनोहर सुरिलो गगन चुम्बि कैलाशको बाटुलो टाकुरो भव्य छ। भगवान शिवको निवास कैलाश बाटुलो टाकुरो, हामी नेपालीको शिरपोस बाटुलो, राजमुकुट बाटुलो, घण्टाहरूका पनि तल्लो घेरा बाटुलो युक्त रूपमा बनेको पाइन्छ । दुग्धवल ललित कैलाश गौरी महेश्वरको निवास एवं मानवजातिको मूलअवस्थल हुनाले महिमामय मनोहर पुनीत जन्मभूमिको झझल्को स्थायी रहोस, महत्वपूर्ण इतिहांसको स्मृति बहुमूल्य रहोस, राष्ट्रियता अटल रहोस जातिय गौरव नबिर्सियोस भनेर समस्त जनताका साझाघर देवप्रसाद, राजप्रसाद घुमाउनेघर प्रवृत्तिलाई कैलाशका टाकुराका आकृति दिएर बनाएर स्वस्तिक नन्द्यावर्त सर्वोतभद्र भद्राधिवास कैलाशकुट भवन भन्ने चलन भयो । यस्तै आदर्श हिमाली प्रतिक लिएर हाम्रा हिमाली प्रदेशमा सुदुर पूर्वदेखि सुदुरपश्चिमसम्म दुइपाखे घर ठाँटी पाटी, पौवा, धर्मशाला, गौशाला, लामाथाडा लामाछाना प्रवृति बनाउने परिपाटी छ। कैलाश प्रतिक घुमाउने घर पनि छन्। घुमाउने घर देवताको, दुइपाखे घर मानिसको र वंगलाघर भूतको भन्ने उखान प्रचलित छ ।” (श्रोतः धर्नुवेद– योगि नरहरिनाथ)
आदिपुरुष भगवान शिवको बासस्थान घुमाउने घर हुनु पर्ने भएकाले नै शिवका अनुयायी दरैहरुको अफ्ना शिवशक्ति स्वरुपका खम्बादेवता (कुलदेवता)को कुलघर पनि घुमाउने घरनै बनाइएको हुनु पर्दछ। वि.सं. २०४२ सालसम्म दरैहरुकै पावन एवं ऐतिहासिक थलो रहेको तनहुँका बत्तिस दरै गाउँहरुको घर घुमाउनेघर नै थिए र अद्यापि कतै कतै भेटिंदै छन् । यसैगरी शिद्धलाई महादेव मान्ने मगर, पारोहाङलाई महादेव मान्ने किराँतहरु, घरको मूलखम्बालाई कुलायनको रुपमा महादेव मान्ने दरै लगायतका सबै जातजातिहरु आफु बस्ने घर र देवप्रसाद घर घुमाउने नै बनाउन चाहन्छन् । दराईहरु आफ्ना बाजे बज्यै तथा बराजुको पूजा गर्दा मगरलाई पूजारी बनाउने कार्य देखिदा कतै दराईहरु मगरकै सन्तती त होइनन् भनि शङ्का गर्न बल मिल्दै गएको छ । देवघरको प्रख्यातिमा अडिएको आफ्नो इतिहांस र संस्कृतिलाई जगेर्ना गर्ने प्रतिक सूचकको रुपमा हाम्रा हरेक जातजातिहरु एउटै सुत्रमा बाँधिन र घुमाउने घर बनाउनमा गौरवता महसुस गर्दै गर्दा हाम्रो आफ्नो पनले आफैलाई ढाडस दिएको महसुस हुन पुग्दछ ।
ख) वैज्ञानिकताको आधारमा : पृथ्वी भित्रका ठूला पाताहरु (Plates) को उथल पुथल तथा एक आपसमा हुने ठक्करहरुले हुने भौगर्भिक भुकम्प जस्ता प्राकृतिक विपत्तिहरू समय–समयमा भइरहने गर्दछ । पृथ्वीको बाह्य दृश्य भाग जति मनमोहक र रहस्यमय छ, यस्को अदृष्य वा गर्भ भाग पनि त्यतिको रोचक छ । अनादिकालको विशाल विस्फोट पछि सौरमण्डलको निर्माण हुने क्रममा विभिन्न वायव्य पदार्थ धुलो र धुँवाको बादलबाट पृथ्वीको निर्माण प्रकृया सुरुभएको विश्वास गरिन्छ । रेडियो धर्मी तत्वहरुको तापबाट पृथ्वीको स्वरुप पग्लिएको कुनै धातु डल्लो जस्तो थियो। यसरी पृथ्वीको केन्द्रीय भाग बढी घनत्व र बाहिरी सतह हलुका पत्रहरुले बने । पृथ्वीमा जल तथा वायुमण्डलीय पदार्थको उत्पति भयो। थलथले अवस्थाको यो पृथ्वी निर्माणको क्रममा ब्रहाण्डको ताप विद्युत सञ्चालित पदार्थ यसका गर्भमा परेकोले यसको गोलो र ठोस स्वरूप प्राप्त भएपछि पनि भित्री भाग तात्ने, पग्लिने र रासायनिक अन्तरक्रिया हुने क्रम रोकिएन । पृथ्वीभित्रको ठूला पाताहरूको उथलपुथल तथा एकआपसमा हुने ठक्करबाट पृथ्वीको भौगर्भिक कम्पनमा भएको स्थलबाट चारैतिर समान रूपले फैलिने गर्दछ । भूकम्प हुँदा घरको गाह्रो तन्कने र खुम्चने प्रक्रिया बढ्ने क्रममा मानवनिर्मित घरहरू पहिरिन गई सम्पूर्ण खण्डहर बन्न पुग्दछन् । घुमाउने घरको चारैतिर घरको गाह्रो घुमेको कारण भूकम्पबाट क्षय हुने सम्भावना ज्यादै न्यून रहने गर्दछ । घुमाउने घरमा रहेको अक्षय शक्तिका कारण घर पहिरिने कार्यको सम्भावना ज्यादै न्यून रहने गर्दछ ।
ग) जीवन र स्वास्थ्य : पुराना दरैका घुमाउने घरको माथिल्लो तलामा अन्नपात राख्ने, बाहिरको पिंडी बस्नको लागि, भुइंतलामा रहेका ४ वटा कोठाहरुमा मध्य एउटा भान्साकोठा, एउटा भण्डारकोठा र एउटा सुत्ने कोठा र अर्को रोदी बस्न मिल्ने सुकनकोठा बनाइएको पाउँदछौं । प्रायः घुमाउने घरहरुमा मूलढोका दक्षिणतर्फ, सहायक ढोका पूर्वतर्फ र  पश्चिम एवं उत्तरतर्फ झ्यालहरु राखिने गरिन्थ्यो। दरैहरुको सुत्ने कोठा र मझेरी कोठा मूलढोकाको सामुन्ने र पूर्व तर्फको ढोकामा सिकुवा कोठा बनाउने गरिन्थ्यो । विशेष गरेर सिकुवा कोठा  धान कुटने ओखल रहने गथ्र्यो र कहिलेकाही यही कोठा रोदी बस्नका लागि प्रयोग गर्ने गरेको कुरा यम बहादुर दरैले बताए । हरेक व्यक्तिका सोचमा आधुनिक संरचनाका घर भित्रिएसंगै हालका पुस्तालाई पुराना घुमाउने घरहरु आउट अफ डेट हुँदै जानुमा आधुनिक घर प्रति रुचि बढ्दै गएकाले नै हो । यसैले आजकल दरै समुदायका व्यक्तिहरुले परम्परागत घुमाउने घरहरु बनाउन छाड्दै गएका छन् । वास्तवमा घुमाउने घर बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भएता पनि हरेकमा आधुनिकता प्रति मोह बढ्दै गएको छ ।

शिक्षा प्राप्तिनै ज्ञानको ज्योति

(क) जलदेवी माध्यामिक विद्यालय भादगाउँ : वि.सं. २०१५ सालमा राजा श्री ५ महेन्द्रको पश्चिमाञ्चल क्षेत्रको भ्रमणको क्रममा डमौलीको भादगाउँमा दरैहरुको बालबच्चा अध्ययन गर्न पाउन भनि दरैहरुका अग्रज नरसिंहबहादुर दरै, काशीराम दरै, वीरबहादुर दरै लगायतका व्यक्तिहरुले राजा महेन्द्रमा बिन्ति जाहेर गर्दा राजा महेन्द्रको हुकुम प्रवाङ्गीबाट तत्कालै जलदेवी प्राथमिक विद्यालय स्थापना भएको हो । दरै गाउँमा स्थापित यस विद्यालयका प्रथम शिक्षक पनि साँखरका सोमबहादुर दरै नियुक्त भएका थिए । दरैहरु आफ्नो चण्डीदेवीलाई जलदेवी भन्न रुचाउँछन् । यहीको दरैले सेतीमादी नदीमा दिनभर जाल खेल्दा कालो शिला मात्र फेला परेकोले साँझमा उक्त शिला ठूलो सिमलको रुखको फेदमा ल्याएर थपना गरेर पूजा गर्न थालेका हुन् ।
त्यही कुरा अरैहरुले तनहुँका राजा हरकुमारदत्त सेनमा जाहेर गर्दा सही सत्य प्रमाणित हुन पुगेकोले सो शिला तनहुँसुरमा चण्डेनीथोकमा लगेर स्थापना गरी उक्त देवीलाई आजपर्यन्त चण्डीदेवी भनि पूजाआजा गर्दै आइरहेको पाउँदछौ। आफैले पूजा गर्दै आएकी देवी जलदेवीले चर्चेको जग्गा जलदेवी प्राथमिक विद्यालयलाई प्रदान गरेको हुनाले उनै देवीको नामबाट यस विद्यालयको नाम जलदेवी राखिएको कुरा पूर्वशिक्षक कर्णबहादुर बस्नेतले बताए । अहिले उक्त प्राथमिक विद्यालयबाट निम्न माध्यामिक विद्यालय हुँदै तनहुँको सम्मानित माध्यामिक विद्यालयमा स्तरोन्नति गर्न पाएकोमा आफु गौरान्वित हुन पाएको कुरा  पूर्वप्रधानाध्यापक विष्णुबहादुर अधिकारीले बताए  ।
(ख) रामपुरको दरै ठाँटी माध्यामिक विद्यालय : पाल्पा जिल्लाको मदनपोखराको कोकलगाउँबाट रामपुर नगरपालिकाको बेझाडन बजार नजिकै बसाइ सरेका दरैहरुको जिल्लाभरमा एक मात्र दरै बस्ती रहेको छ । आज भन्दा ७÷१० पुस्ता अगाडिदेखि यही बस्तीमा ३० घर परिवार दरैहरु बसोबास गर्दै आइरहेका छन् । यहाँका दरैहरुले दरैहरुको बस्ति नजिकै दरै ठाँटी बनाएका छन् । त्यही दरैठाँटीमा दरैका बालबच्चाहरु पढन पाउन भनि दरैहरुले आफ्नो गाउँमा दरैठाँटी माध्यामिक विद्यालय स्थापना गरेका हुन् । दरैहरु आफू अज्ञानी भए पनि आफ्ना बाल बच्चा शिक्षित बनुन भनेर स्कुल स्थापना गरेको कुरा राजकुमार दरैले आफ्नो श्रव्यदृष्य सामाग्रीमा प्रस्तुत गरेको पाइन्छ ।
निष्कर्ष, अन्त्यमा आजकल सिमेण्ट कंक्रिट घरहरुको कारण बुढाबुढीदेखि बालबच्चाहरुमा समेत चिसोको बढदो प्रभावले हाम्रा अभिभावकहरु रोगले पीडित बन्दै गएको पाएका छौं। स्वस्थ जीवनका लागि हाम्रा पूर्वजहरुले अप्नाएको बाटो तर्फ अग्रसर हुने की पुनःविचार गरौं । अरु यहाँहरुको आफ्नै हातमा ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker