एमाले तनहुँको पहिलो पूर्ण बैठक : विभिन्न विभाग गठन र जिम्मेवारी तोकियो
भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँले जिल्ला अधिवेशन पश्चात पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ । अधिवेशनबाट निर्वाचित समितिको आइतबार बसेको पहिलो पूर्ण बैठकले विभिन्न विभाग गठन गर्दै जिम्मेवारी तोकेको छ ।
संगठन विभागको प्रमुखमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आर्थिक विभागको प्रमुखमा उपाध्यक्ष हरिराज कंडेल, पार्टी स्कूल विभागको प्रमुखमा सचिव राजेश्वर ढकाल, प्रचार विभागको प्रमुखमा उपसचिव प्रदीपराज अधिकारी र मोर्चा संगठन विभागको प्रमुखमा उपसचिव खिम कुमाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्यकर्ता परिचालनको जिम्मेवारी समेत तोकिएको सचिव ढकालले जानकारी गराए ।
स्थानीय निर्वाचनका लागि भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भानु नगरपालिका र देवघाट गाउँपालिकामा उपाध्यक्ष हरिराज कंडेल, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सचिव राजेश्वर ढकाल, व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकामा उपसचिव प्रदीपराज अधिकारी, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा उपसचिव खिमबहादुर कुमाललाई कार्यकर्ता परिचालनको जिम्मेवारी तोकिएको छ ।

बैठकले १०५ सदस्यीय जिल्ला सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको छ । आगामी फागुन १२ गतेभित्र सम्पूर्ण वडा कमिटी, फागुन १५ गतेभित्र स्थानीय पालिका कमिटीको बैठक गरिसक्ने तथा फागुन महिनाभित्र सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरुले आफ्नो सम्पत्ति विवरण पार्टी जिल्ला कार्यालयमा बुझाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले जिल्ला कमिटीको रिक्त रहेको सदस्यमा भानुका शंकर रानाभाट र गोविन्द मिश्र, देवघाटका शिवराज पौडेल, व्यासका सीता कैनी र संगिता विक, म्याग्देका सुनिता नेपाली र शुक्लागण्डकीका सूर्यकला ढकाललाई मनोनित गरेको छ ।
यस्तै, विधान अनुसारको मनोनित भने आगामी बैठकमा गर्ने निर्णय भएको एमाले तनहुँले जनाएको छ ।











