मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा एक सय ५५ दिन म्याद थप भएको छ । विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको उहाँले बताउनुभयो । अब थपिएको म्यादभित्र उक्त खण्डको काम सम्पन्न हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सडक आयोजनाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखी पठाएको थियो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

इन्जिनियर पाण्डेका अनुसार यो खण्डमा हालसम्मको प्रगति ६० प्रतिशत छ । आँबुखैरेनीबाट जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ ।

पश्चिम खण्डको म्याद भने विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

हालसम्म पश्चिम खण्डमा २३ प्रतिशत प्रगति हासिल भएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकी र पोखराका केही भागमा एकतर्फी कालोपत्रको काम भइरहेको छ । पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker