शुक्लागण्डकीको पञ्चमुनिदेवले रनिङशिल्ड हात पार्यो

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको छ । लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्न सफल पञ्चमुनिदेवले यस वर्ष प्रतियोगिताकै उपाधि स्थायी रूपमा आफ्नो बनाएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पञ्चमुनिले १७ स्वर्ण, ८ रजत र ८ कास्य गरी कुल ३३ पदक जित्यो । यस्तै, ४ स्वर्ण, ५ रजत र ९ कास्यसहित कुल १८ पदक प्राप्त गरेको अरनिको आवासीय माध्यमिक विद्यालय, भोटेपानी दोस्रो भयो ।
त्यसैगरी ३ स्वर्ण, १ रजत र १ कास्यसहित ५ पदक जितेको आधारभूत माध्यमिक विद्यालय, राईपुर तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाका २८ विद्यालयका विद्यार्थीहरूले ३० विधामा प्रतिस्पर्धा गरेका थिए ।
नेपाल पुलिस स्कुल, बेलचौतारामा आइतबार सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले विद्यार्थीको खेलकौशल वृद्धिमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले नगरका विद्यार्थीहरूले जिल्ला तथा अन्य क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट नतिजा आउने अपेक्षा राखे ।
गत शुक्रबारदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको समापन नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविचन्द्र पौडेलले गरेका थिए ।










