कतारबाट फर्किएका हेमबहादुरको उखु र मेवा खेती

भञ्ज्याङ न्यूज

कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका-१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थाल्नुभएको हो । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गर्नुभएका उहाँले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिक रूपले उखु र मेवा खेतीतर्फलाग्नुभएको हो।

व्यास नगरपालिका-११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक रु डेढ लाख भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गर्नुभएको हो ।

करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको किसान उहाँले बताउनुभयो। सुरुमा रु नौ लाख लगानी गरी व्यवसाय थालेको बताउनुहुने लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिनुभयो।

पाँच महिनाको अवधिमा उखु करिब रु डेढ लाख र मेवा रु ५० हजारभन्दा बढीको बिक्री गरिसकिएको उहाँको भनाइ थियो । चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ ।

उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ । किसान लामाको व्यास नगरपालिका-३ अनशन चौतारीमा लामा फलफूल तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ ।

सुरुमा दुइ हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ । एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुइ वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिनुभयो ।

फार्ममा रहेका कामदारलाई काम गर्न सिकाउनाका साथै आफू पनि दैनिक काम खट्ने गरेको उहाँले बताउनुभयो । अहिले दैनिक चार कामदारले रोजगारी पाइरहेका छन् । बाबु जयबहादुरले भन्नुभयो, ‘फार्मको रेखदेखदेखि काम गर्नेसम्मका जनशक्ति राखिएको छ ।’

दुइ छोरामध्ये एउटा छोरा होटल र अर्का छोरा फलफूल तथा जुस पसल सञ्चालन गर्दै आएपछि फार्म आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। उखु प्रतिढकको रु ५० र मेवा प्रतिकिलो रु ८० मा बिक्री गर्ने गरिएको छ। उखु धादिङको नौबिसे र मेवा भारतबाट ल्याएर व्यावसायिक रुपमा खेती गरिएको हो । उक्त रेडलेडी नाउँको मेवाको बीउ एक किलोग्रामको रु एक लाखसम्म मूल्य पर्ने भएकाले महँगो रहेको जयबहादुरको भनाइ थियो ।

उखु जन्डिस रोगका लागि उपयुक्त हुने भएकाले त्यसलाई पेलेर करिब एक सय लिटर खुदो बनाएर राखिएको छ । लामाले भन्नुभयो, ‘खुदो प्रतिमाना रु ६०० मा बिक्री गर्ने गरिएको छ ।’ फार्ममा उखु र मेवाको खेतीका साथै भैँसी कुखुरा र पानीहाँस पाल्ने कार्य पनि अघि बढाएको बताइएको छ। रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker