बाढीपहिरोका कारण दमौलीस्थित भादगाउँमा खानेपानी आपूर्तिमा समस्या

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्तिमा समस्या देखिएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १४ किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइपमा बाढीपहिराले क्षति पुर्‍याएपछि पानी आपूर्तिमा समस्या आएको हो ।
असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। उनका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो । ‘संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइप मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्’, व्यवस्थापक श्रेष्ठले भने, ‘सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।’
डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिए । नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उनले बताए ।
लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसम लगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । सानाठूला गरी चार आयोजनाबाट पानी संकलन गरी व्यास–१ र १२ का दुई हजार ६८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो ।
खिरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए । उनले भने, ‘छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर संकलन हुँदै आएको थियो । अहिले पानी संकलनमा समस्या भएपछि वितरण बन्द भएको हो।’
यसअघि बिहान र बेलुका दुई/दुई घण्टा पानी वितरण हुँदै आएकामा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताए । उनले भने, ‘खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन।’ उक्त मुहानको पानी पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker