व्यवसायिक कागती खेतीमा सक्रिय बन्दै शुक्लागण्डकीका मेयर पण्डित
अशोक विश्वकर्मा/भञ्ज्याङ

दुलेगौंडा : व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले व्यवसायिक कृषि पेशा समेत सुरु गरेका छन् । मेयर पण्डितले जिल्लाकै म्याग्दे गाउँपालिका–४ मा करिब १० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन् ।
व्यस्तताका बिच समेत हरेक विहान कागतीको गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने मेयर पण्डितले स्वास्थ्यका लागि समेत विहान चाडो उठेर विरुवाको गोडमेल गर्न उपयुक्त लाग्ने सुनाए ।
‘हाल एक हजारभन्दा बढी कागतीका विरुवाले फल दिन सुरु गरेको छु । घरायसी प्रयोगका लागि प्रसस्तै पुग्ने भएपनि आगामी बर्षबाट ब्यवसायिकरुपमा उत्पादन हुने अपेक्षा गरेको छु’ उनले भने, ‘आगामी वर्षबाट बजार पठाउने गरी हजारौ किलो उत्पादन हुनेछ विश्वासमा छु । एक सिजनलमा १५–२० हजार किलो कागती उत्पादन हुन्छ । भुगोल र माटो सुहाउँदो खेती कागतीलाई बादर लगायतका जंगली जनावरले समेत कम क्षति गर्ने भएकाले बाँझिएको जमिनमा यो खेती सुरु गरेको हो ।’
पृथ्वीराजमार्गबाट केही मिनेटको दुरीमै रहेको जमिनमा जनप्रतिनिधी भएको ब्यक्तिले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको चासो बढेर गएको छ । सामान्यतया कोदो मकै लगायतका खाद्यान्न बाली लगाउँदा जंगली जनावरले नोक्सान गरेपछि बाँझिएको जमिनमा अन्यले समेत कागती खेती सुरु गर्न थालेको स्थानीय हेमकुमार कायस्थले बताए। उनले भने, ‘समाजका अगुवाई गर्ने व्यक्तिहरुले कृषिमा चासो दिएर संलग्न हुने हो भने कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने छ ।’
नेपाली काँग्रेसकै स्थानीय नेता बालकृष्ण पौडेलले पण्डितको जस्तै अन्य जनप्रतिनिधीहरुको देखिने गरी कुनै पेशा ब्यवसाय हुनुपर्नेमा जोड दिए । खेती गर्ने संस्कृति लोप हुँदै जान थालेको अवस्थामा नगर प्रमुखको काम उदाहरणीय भएको पौडेलको बुझाई छ। गाउँघरमा बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको जस्तो लागेको छ । उनले भने, ‘जनप्रतिनिधिहरु मार्गदर्शक बन्ने हो भने जनस्तरमा केही गर्न सकिन्छ भन्ने हौसला बढेर आउने पौडेलको बुझाई छ ।’
बजार माग उच्च रहेको कागती खेतीसंग अब पुख्र्यौली जमिनमा व्यवसायिक रुपमा मेवा खेती गर्ने तयारी समेत मेयर पण्डितको रहेको छ । उनले आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोच सहित लागि परेको बताए ।










