“कहाँ हो नानी घर तिम्रो, कहाँ हो माइती मामाली, नानी त रहिछ्यौ हाम्रै दामाली ….”
नारायण खण्डका/तनहुँ

ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको तनहुँको बन्दीपुर मंगलबार अर्को छुट्टै पहिचान बनाउन कस्सिएको थियो। तनहुँको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको चुड्का÷कौरा नृत्य गर्नका लागि बन्दीपुरको टुँडीखेलमा युवायुवतीहरु जातीय पहिचान झल्कने भेषभूषामा सजिएर उपस्थित भएका थिए ।
“कहाँ हो नानी घर तिम्रो, कहाँ हो माइती मामाली, नानी त रहिछ्यौ हाम्रै दामाली ….”, “सोह्रवर्षे उमेरैमा मैपनि झिल्के हुँदो हो……” बोलकोचुड्का गीत बजेसंगै टुँडिखलेको चौरमा एक हजार जना भन्दा बढी युवायुवतीले एकैपटक सामुहिक नृत्य प्रस्तुत गरे । आन्तरिक तथा वाह्य पर्यटकहरु मोबाइल, क्यामेरमा उक्त नृत्यको तस्विर तथा भिडियो रेकर्ड गर्न तछाडमछाड गरेको दृष्य निकै आकर्षक देखिएको थियो। यो दृष्यले नेपाली गीत संगित र संस्कृतिले सबैलाई आकर्षित गर्छ भन्ने समेत पुष्टि गरेको थियो ।
एकैस्थलमा एकैपटक एउटै गीतमा हजार जना भन्दा बढीलाई चुड्का नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो । लक्ष्य अनुसार कार्यक्रम सम्पन्न भएको वृहत चुड्का नृत्य कार्यक्रमका संयोजक एवं सम्पादा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

संयोजक गुरुङले भने, “क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय युवायुवती, किशोरकिशोरीहरुको सहभागितामा तनहुँको पहिचान झल्कने चुड्का गीतमा सामुहिक रुपमा नृत्य प्रस्तुत गरिएको छ ।”
तनहुँको कला, संस्कृति प्रवद्र्धन गर्ने र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए । उनले भने, “तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नृत्य पस्तुत गरेको यस कार्यक्रमले यहाँको पर्यटन प्रवद्र्धन हुनुका साथै कला, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास गरेका छौं ।”
बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन चुड्का नचाइएको छ भने दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन विशेष कार्यक्रम गरिदै छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताए । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अब सन् २०२६ का लागि पनि विशेष कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सन् २०२६ लाई सहासिक पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिएको छ ।
त्यस्तै पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरिएको छ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।
बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यतिबेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताए ।

बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा रहेका सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेटवाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडी बढेको अध्यक्ष थापाले बताए । उनले भने, “यहाँ निर्माणाधीन रहेका पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौँ । यसले बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित विश्वास छ ।”
अध्यक्ष थापाका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल बन्दीपुर आउने पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्ने गरेको छ ।










