होटल व्यवसायी संघले दमौलीमा कन्सर्ट गर्ने
भञ्ज्याङ न्यूज

होटल व्यवसायी संघ तनहुँले नयाँ वर्ष २०७९ का अवसरमा दमौलीमा लाइभ कन्सर्ट गर्ने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यमा युवा लक्षित गरी राष्ट्रियस्तरको कबवेभ व्याण्डको साथमा कन्सर्ट गर्ने तयारी गरेको संघका अध्यक्ष दुर्गाविलास भटराइले बताए ।
होटल व्यवसायी संघ तनहुँको बैठकले कोरोना महामारीका कारण स्थगित भएको कन्सर्टलाई आउँदो नयाँ वर्षमा गर्ने निर्णय गरेको अध्यक्ष भट्टराइले बताए ।
व्यवसाय प्रवर्द्धन गर्न र जिल्लावासीलाई नयाँ वर्षा अवसरमा दमौलीमै मनोरञ्जन प्रदान गराउनु मुख्य उद्देश्य रहेको उनले बताए । उनले भने, ‘यसभन्दा अगाडिका नयाँ वर्षहरुमा आयोजना गर्न लागिएका कन्सर्टहरु कोरोना कहरका कारण रोकिएकोले पुनः उक्त कार्यक्रमको तयारी गरिएको हो ।’
कोरोना कहरका कारण थला परेको पर्यटन तथा होटल व्यवसाय उद्योगलाई उक्त कार्यक्रमले प्रवर्द्धनमा टेवा पुग्ने होटल संघले विश्वास गरेको छ ।










