नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा प्रगति ३५ प्रतिशत

विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुनेक्रम बढेपछि समग्र प्रगति बढेको देखिएको हो । “सडक विस्तार गर्ने क्रममा छेउछाउमा माटो भर्ने, रुख काट्ने, विद्युत्का खम्बा सार्नेलगायतका काम गर्दा भौतिक प्रगति खासै देखिँदैन”, उहाँले भन्नुभयो, “अहिले धेरै ठाउँमा कालोपत्रको काम धमाधम भइरहेका कारण भौतिक प्रगति बढ्दै गएको हो ।”
इञ्जिनियर ढकालका अनुसार सडकको नवलपुर खण्डमा आठ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रको काम भइसकेको छ । “अहिले यस सडकको पूर्वी खण्डमा साढे आठ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ”, उहाँले भन्नुभयो, “हर्कपुर, अमरापुरी तथा कावासोतीमा कालोपत्रको काम भएको छ, धेरै ठाउँमा कालोपत्रको तयारी भइरहेको छ।”
अहिले सडकका विभिन्न भागमा दैनिक जस्तो कालोपत्रको काम भइरहेको इञ्जिनियर ढकालले बताउनुभयो । “सडक विस्तारका लागि संरचना हटाएर माटो भरिएको ठाउँमा कालोपत्रको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी असारसम्म मुकुन्दपुरबाट डोण्डासम्म कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको छ ।”
इञ्जिनियर ढकालका अनुसार यस खण्डको ६५ किमी क्षेत्रमा निर्माण हुने दुई सय १५ कल्भर्टमध्ये एक सय ११ मा काम सकिएको तथा ४० स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ । यहाँ साना फलामे पुललाई हटाएर निर्माण हुने २२ माइनर ब्रिज (साना पक्की पुल)मध्ये १४ स्थानमा पुल निर्माण सम्पन्न भइसकेका छन् । “दुई स्थानमा एकसाइडको पुल निर्माण भएको छ, पाँच वटा माइनर ब्रिज निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण भइरहेको ठाउँमा फाउन्डेशन, सबस्टक्चर र सुपस्टक्चरको काम भइरहेको छ ।”
चार लेनमा फराकिलो हुने सडकमा रहेका दुई लेनका ठूला पुलको स्थानमा १२ वटा चार लेनका पुल निर्माण हुँदैछन् । “अहिले १२ वटै ठूला पुल निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “सात पुलमा सबस्टक्चरको काम सकियो, तीन वटामा सबस्टक्चरको काम हुँदैछ भने दुईमा काम भइरहेको छ ।” ठूला पुल निर्माण हुने स्थानमा राखिने ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस गडर’ (पुलमा पिल्लर निर्माण गरेपछि ल्याएर लठ्ठाले तन्काएर राखिने बिम । यो बिम राखेपछि पुलमा ढलान गरिन्छ) को काम खोलाको नजिकै भइरहेको छ ।
सडक विस्तारको कामसँगै ढल निकासका लागि नाला निर्माणको काम पनि तीव्ररुपमा अघि बढेको ढकालको भनाइ छ । उहाँका अनुसार हालसम्म ३१ किमी नाला निर्माणको काम सकिएको छ । “अवस्था हेरेर हामीले नाला निर्माण गरेका छौँ, उहाँले भन्नुभयो, “सहज हुने ठाउँमा त्यहीँ फाउन्डेशन उठाएर नाला बनाएका छौँ, केही स्थानमा बाहिर तयार पारिएका सेट ल्याएर नाला बनाएका छौँ ।”
सडक विस्तारका लागि विद्युत् तथा खानेपानीको संरचना सार्ने काम पनि सँगसँगै भएको उहाँको भनाइ छ । “अहिलेसम्म विद्युतीय संरचना सार्ने काम ४५ प्रतिशत सकिएको छ, खानेपानीको संरचना सार्ने काम ७० प्रतिशत पूरा भएको छ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि काटिने करिब ३६ हजार तीन सय रुखमध्ये ९९ दशमलव ९९ प्रतिशत काम सकिएको छ ।” सडक विस्तारका लागि अहिले सबै कर्मचारी गरी दैनिक एक हजार एक सयभन्दा बढी कामदार खटिइरहेका उहाँको भनाइ छ ।  रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker