तनहुँमा ९ वटा भेन्टिलेटर सहित ३७ बेडको आइसियु कक्ष तयार, जिल्लामा दक्ष जनशक्ति, भेन्टिलेटरका उपकरण र अक्सिजन अभाव

नारायण खड्का/तनहुँ

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जोखिम बढ्दै गएपछि तनहुँमा उच्च सतर्कता सहित आवश्यक तयारीलाई तीब्रता दिइएको छ । तनहुँमा अहिलेसम्म गम्भिर प्रकृतिका संक्रमित नभिटेएपनि पूर्वतयारीका कामलाई प्राथमिकतामा राखिएको छ । करिब ७२ किलोमिटर दुरी पृथ्वीराजमार्ग तनहुँमा पर्ने र राजमार्ग भएर भारत लगायत संक्रमण फैलिएका जिल्लाबाट आएका यात्रुहरु सहजै आवतजावत गर्ने हुँदा तनहुँ कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। जिल्लामा संक्रमण फैलन नदिन तथा रोकथामका लागि भन्दै अहिले अनिर्वाय रुपमा मास्क लगाउनु पर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको छ ।

यस्तै, विदेशी मुलुक तथा अन्य जिल्लाबाट तनहुँ भित्रनेलाई अनिवार्य रुपमा संस्थागत वा होम आइसोलेसनमा कम्तिमा पनि १० दिन बस्नुपर्ने व्यवस्था मिलाउन जिल्लाका १० वटै पालिकाका वडावडासम्म विभिन्न समितिहरु गठन गरी परिचालित गरिएको छ । यता कोही व्यक्तिमा संक्रमण भएमा र स्वास्थ्यमा गम्भिर प्रकृतिको समस्या देखिएमा तत्काल उपचार सेवा प्रदान गर्न जिल्लामै सघन उपचार कक्ष समेत तयार गरिएको छ ।

सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा कोरोना संक्रमित विरामीलाई लक्षित गरी ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष तयार गरिएको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए । स्वास्थ्य मन्त्रालयको २ करोड रुपैयाँ आर्थिक सहयोगबाट अस्पतालमा आइसियु र भेन्टिलेटर व्यवस्थापन गरिएपनि आवश्यक दक्ष जनशक्ति र अक्सिजनको सहज उपलब्धतामा समस्या देखिएको डा. पौड्यालले बताए ।

यस्तै, दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसका लागि टेन्डर प्रक्रिया पुरा भई सम्झौता समेत भइसकेको हुँदा जेठ महिना भित्र अक्सिजन प्लान्ट निर्माण पुरा भई प्रयोगमा ल्याउने तयारी भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी गराए ।

यता संघीय सरकार मातहत रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र हाता भित्र पनि ५ वटा भेन्टिलेटर सहित ३० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ । जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा आइसोलेसन भवन तयार गरिएपनि आवश्यक उपकरणको अभाव रहेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

करिव ७२ लाख रुपैयाँमा निर्माण गरिएको भवन चैत्र ७ गते केन्द्रलाई हस्तान्तरण गरिएको थियो । आइसोलेसन भवनका निर्माणका लागि शुक्लागण्डकीको १४ प्रतिशत, व्यास, भिमाद र भानु नगरपालिकाको १२/१२ प्रतिशत, रिसिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको ९/९ प्रतिशत र देवघाट गाउँपालिकाको ५ प्रतिशत लागत सहभागिता रहको छ ।

गत वर्ष भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि व्यवस्थापनमा जटिलता आइलागेको थियो। संक्रमितमा गम्भिर प्रकृतिको स्वास्थ्य समस्या नदेखिएपछि जिल्लाका अधिकांश संक्रमति होम आइसोलेसनमै बसेका थिए । सहजै निको हुन थालेपछि स्थानीय पालिकाले तयार गरेको आइसोलेसन भवन प्रयोगमा ल्याउन कुनै चासो नदेखाउँदा अहिले केन्द्रमा दक्ष जनशक्ति भएपनि आवश्यक उपकरण अभावले उपचार सेवा प्रदान गर्न समस्या देखिएको केन्द्र प्रमुख डा. श्रेष्ठले बतौ ।

जिल्लाका १० वटै पालिकाको लागत सहभागीतामा निर्माण गरिएको आइसोलेसन भवनमा एसि, अक्सिजन सहित ३० वेड तयार गरिएको छ । ५ वेडको इमरजेन्सि कक्ष तयार गरिएको छ । अस्पतालमा आवश्यक दक्ष जनशक्ति भएपनि भेन्टिलेटर सहितको आईसीयु कक्ष सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध नहुँदा सहज रुपमा उपचार सेवा दिन चुनौती खडा भएको छ ।

यस्तै, डिसिसियमसि तनहुँले जिल्लामा कोरोना भाइरस संक्रमण फैलन नदिन तथा रोकथामका लागि आवश्यक पूर्वतयारीलाई तीब्रता दिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । डिसिसियमसिको बैठकले जिल्लाका १० वटै पालिकामा अघिल्लो वर्ष सञ्चालनमा ल्याइएका क्वारेन्टिन तथा आइसोलेशन भवनलाई पुनः सञ्चालनमा ल्याउने, प्रत्येक वडाका टोल विकास संस्थाहरुलाई विदेश तथा अन्यत्रबाट आएका नागरिकको निग्रानी गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखिएको प्रजिअ आचार्यले बताए ।

यस्तै, कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि तनहुँका १० वटै पालिकाले विद्यालयको पठनपाठनदेखि यस शैक्षिक सत्रको विद्यालय स्तरका अन्तिम परीक्षा अनिश्चितकालका लागि स्थगित गरेका छन् । स्थानीय पालिकाहरुले शिक्षकहरुलाई कोरोना विरुद्धको सचेतना कार्यक्रममा खट्टनि समेत अनुरोध गरेका छन् । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker