पल शाह प्रकरण : अनुसन्धान सकेर प्रहरीले मिसिल सरकारी वकिलको कार्यालय पठायो
भञ्ज्याङ न्यूज

जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका अभिनेता पल शाह विरुद्ध परेको उजुरीको अनुसन्धान सकिएको छ । तनहुँ प्रहरीले नाबागिल जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता शाहको मुद्दाको अनुसन्धान प्रक्रिया पुरा गरी मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
तनहुँ प्रहरीले जिल्ला अदालतबाट शाहविरुद्ध तेश्रो पटक गत चैत ४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान पुरा गरेको छ । यसअघि प्रहरीले अदालतबाट माघ १५ गते सात दिन र २१ गते १२ दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान गरेको थियो ।
प्रहरीले सबै अनुसन्धान सकेर मिसिल सरकारी वकिलको कार्यालयमा आज पठाएको हो । सरकारी वकिलको कार्यालयले एक/दुइ दिनभित्रै अभियोगपत्र तयार गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
यस्तै, किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिइएका थिए । उजुरी दर्ता भएको पाँच दिनपछि फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मर्समर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।
नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।










