डुम्रे–बेंसीसहर–चामे सडकमा ढिलासुस्तीबारे अनुगमन

भानु : डुम्रे–बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि भानु–९ बाइसजाँगरसम्म निर्माणाधीन सडकमा ढिलासुस्ती तथा सडकमै निर्माण सामग्री थुपारिएको विषयमा स्थानीयस्तरबाट व्यापक गुनासो आएपछि सम्बन्धित पक्षले स्थलगत अनुगमन गरेका छन् ।
नगर प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा सोमबार डुम्रे–बेँसीसहर–चामे सडक योजना प्रमुख सतिश सुवेदी, भानु–३ का वडा अध्यक्ष तुलकुमार गुरुङ तथा पी.के. कन्स्ट्रक्सनका प्रतिनिधिसहितको टोलीले सडकको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा निर्माण व्यवसायीले सडकमा राखिएका ग्राभेल तथा अन्य निर्माण सामग्री तत्काल व्यवस्थित स्थानमा सार्ने तथा थप जनशक्ति परिचालन गरी निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी सडक स्तरोन्नतिको क्रममा जेरो -चाम्बास) क्षेत्रबाट मुख्य सडकमा जोडिने शाखा सडकहरूको समेत मर्मत तथा सुधार गर्ने प्रतिबद्धता निर्माण व्यवसायी र सडक योजना प्रमुखले व्यक्त गरेका छन् ।
स्थानीयवासीले निर्माण कार्यमा भएको ढिलाइका कारण दैनिक आवतजावतमा समस्या भएको गुनासो गर्दै सडक निर्माणलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।










