आजबाट शुक्लागण्डकी महोत्सव, पूर्व मुख्यमन्त्री गुरुङले उद्घाटन गर्ने
भञ्ज्याङ समाचारदाता/खैरेनीटार

तनहुँको शुकलागण्डकी नगरपालिकाको शुक्लागण्डकी उद्योग वाणिज्य संघले आयोजना गरेको शुक्लागण्डकी महोत्सव सम्पूर्ण तयारी पुरा गरी आजबाट सञ्चालन गरिदै छ ।
शुक्लागण्डकी-६ खैरेनीटारमा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटन प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव, कला सिप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एकिकरण पश्चात बनेको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिन शुक्लागण्डकी, म्याग्दे, भिमाद लगायत विभिनन ठाउँबाट कला र संस्कृति झल्काउने किसिमको झाँकीले खैरेनीटार बजार परिक्रमा गरेर महोत्सव स्थलमा लगिने महोत्सवका संयोजक विमल रिमालले बताए ।
शुक्लागण्डकीको धार्मिक, पर्यटकीय स्थलसँगै स्थानीय कला सँस्कृति र कृषि उपजको प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले बताए ।
महोत्सवमा स्थानीय कला साँस्कृतिसँगै घरेलु तथा कृषि सामाग्रीको प्रदर्शनी, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, तानडोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, रत्यौलि प्रतियोगिता, दैनिक ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, दैनिक उपभोग्य बस्तुको खरिद तथा विक्री हुने प्रवक्ता हरि थापाले बताए ।










