ढोरबाराही मन्दिरको भेटीघाटी पारदर्शी बनाइदै

भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरको भेटीघाटी तथा दान सार्वजनिक गर्न थालिएको छ । मन्दिरमा चढाइएको भेटी तथा दानको हिसाब सार्वजनिक गर्नुपर्ने भन्दै नागरिकस्तरबाट आवाज उठ्न थालेपछि मन्दिर व्यवस्थापन समितिको सक्रियतामा भेटी तथा दानको हिसाब सार्वजनिक गर्न सुरू गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।

‘अहिले भक्तजनबाट प्राप्त भेटी तथा दानको रसिद जारी गर्ने र नियमितरूपमा सार्वजनिक गर्ने काम भइरहेको छ’, उनले भने, ‘दानको रसिद दिने र आम्दानी सार्वजनिक गर्ने कार्यले पारदर्शिता बढ्ने आशा गरेका छौँ । यस कार्यले भेटी र दान प्राप्त हुने दरसमेत बढेको छ । गत चैतमा मात्रै रु तीन लाख भेटी संकलन भएको छ ।’

ढोरबाराही मन्दिर जङ्गलको बीच भागमा अवस्थित छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेका माछाले यहाँ पुग्ने भक्तजनलाई लोभ्याउने गरेका छन् । सो पोखरीमा बेलाबेला लहरी छुट्ने गरेकामा यसलाई धार्मिक शक्तिसँग जोड्ने गरिएको छ ।

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरू समेत रहेका छन् । यहाँ नयाँ वर्षको दिन र वैशाख महिनाभर, बडादसैं, चैतेदसैंको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चना हुने गरेको छ ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ यस मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा ढोरबाराही मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नति गरेपछि भक्तजनहरूलाई यहाँ आउन सहज भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker