हुन छोड्यो अनदीधान खेती

भञ्ज्याङ समाचारदाता/कास्की

केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदीधान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले अनदीको खेती कम हुँदै गएको कृषि ज्ञान केन्द्र कास्कीले जनाएको छ ।
पोखरा-९ नयाँबजार निवासी सुनिता सिग्देलले पुस १५ मा अनदीको लट्टे (चाम्रे) खाने चामल किन्नका लागि बजारका एक दर्जन पसल डुल्नु परेको बताउनुभयो । “हाम्रो समाजमा पुस १५ गतेदेखि दिन लामो हुँदै जान्छ भन्ने पहिलेदेखिको मान्यता छ । पुस १५ लामो रात हुने भएकाले रातमा भोक नलागोस् भनेर बेलुका अनदीको लट्टेमा घीउ र खुदो हालेर खाने प्रचलन रहिआएको छ”, उहाँले भन्नुभयो ।
विशेषगरी पुस १५ मा लट्टे खानका लागि प्रायः किसानले आफ्नै खेतमा अनदीको खेती गर्दै आएपनि पछिल्ला वर्षयस्तो धान लगाउनेको संख्या कम हुँदै गएको केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो ।
केही वर्षेखि अनदीको उत्पादन घटेसँगै अन्य चामलको तुलनामा यसको मूल्य तीन गुणा बढी रकम तिर्न उपभोक्ता बाध्य छन् । पोखरेली बजारमा अनदीको चामल प्रतिकेजी रु तीन सयसम्म बिक्री हुने गरेको छ ।
अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले अनदीधानको उत्पादन घट्दै गएको सिग्देलले बताउनुभयो । यस कारण किसान अनदी खेतीप्रति आकर्षित नभएका उहाँको भनाइ थियो । “चार्डपर्वमा मात्र बिक्री हुने भएकाले यहाँका किसानले नगन्य मात्रामा धान रोप्ने गरेका छन्”, प्रमुख सिग्देलले भन्नुभयो, “व्यावसायिक रूपमा केही मात्रामा बेगनास, रुपा र मादीबेँसी फाँटमा यो धान लगाइने गरिएको छ ।” उहाँका अनुसार जिल्लामा अनदी धान कति मात्रामा उत्पादन हुन्छ भन्ने तथ्याङ्क भने कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयसँग छैन । बेगनास, रुपा, मादी, अन्नपूर्ण गाउँपालिकामा बढी मात्रामा रातो अनदी लगाइने केन्द्रको भनाइ छ ।
रुपा गाउँपालिकाका किसान विश्वनाथ ढकालका अनुसार रुपा र मादी गाउँपालिकाको किमबेँसी, तालबेँसी, मकैखोला, मादीबेँसी, माझठाना, बेगनासफाँट र आर्वाफाँटमा यो धान उत्पादन हुने गरेको छ । अनदीलाई मल धेरै हाल्न नपर्ने, धेरै पानी र रासायनिक मल आवश्यक नपर्ने उहाँको भनाइ थियो ।
खेती गर्न सहज भए पनि चाडपर्वबाहेक अन्य समयमा माग कम हुने भएकाले यसखेतीप्रति आकर्षण घटेको ढकालले बताउनुभयो । उत्पादन कम भएसँगै हरेक वर्ष चामलको अभाव हुँदै गएको उहाँको भनाइ थियो । “अनदीको धान लगाउने क्रम बर्सेनी घट्दै गएको छ। उन्नत जातको धान प्रतिहेक्टर छ टनसम्म फल्ने भए पनि अनदी मुस्किलले दुइ टन मात्रै फल्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो धान लगाउन छाडेका छन्”, ढकालले भन्नुभयो । पोखरामा लट्टेका लागि रातो अनदी बढी प्रयोग हुने छ ।
अनदी एक प्रकारको मोटो चामल हो । नेपालमा रातो र सेतो अनदीको चामल प्रयोग हुन्छ । गुलियो भात, चाम्रे अथवा लट्टे, दूधमा बनाएको खीर, भुटेको खट्टे, पुवा, सेल रोटी बनाउन अनदी चामलको प्रयोग हुने कृषि क्षेत्रमा काम गर्दै आएको संस्था लीवर्ड पोखराका वरिष्ठ कृषि प्राविधिक बुद्धि थापाले बताउनुभयो । “अनदी चामलमा थोरै एमाइलोज धेरै एमाइलो-पेक्टिन भएकाले यसको भात टाँसिने वा च्यापच्याप लाग्ने हुन्छ । पहेँलो वा सेतो भनिने अनदी चामल झुसिलो मिठो र शरीर जोसिलो बनाउने प्रकृतिको हुन्छ । यसको मुख्य गुण यसले शरीरको आन्तरिक अङ्गहरूलाई तन्दुरुस्त राख्न चाहिने चिल्लो पदार्थ भरपूर मात्रामा हुन्छ”, उहाँले भन्नुभयो ।
अनदीको चामलबाट बनेका परिकारले कब्जियत पैदा गर्ने सम्भावना बढी हुने भएकाले घीउ वा खुदो राखेर सेवन गर्न थापाले सुझाव दिनुभयो । “अनदी स्थानीय बाली भएकाले हावापानी अनुकूल हुनाका साथै सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि, रोगकिराको संक्रमण पनि सहन सक्ने हुन्छ”, उहाँले भन्नुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker