नेकपा विभाजनको असर वडा तहसम्म : शुक्लागण्डकीमा ओली र प्रचण्ड-माधव पक्षको गुटगत भेला
संसद पुनःस्थापना हुदैन, मध्यावधि निर्वाचनमा जानुको विकल्प छैन : नेता गुरुङ
- राजकुमार आले (दुलेगौंडा)
गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्पष्ट रुपमा दुइ कित्तामा विभाजन भएको छ । विभाजनको असर अहिले जिल्लाको वडा तहसम्म देखिएको छ । तनहुँमा पनि अहिले गुटगत भेला तथा सभाहरु हुन थालेका छन् ।
तनहुँमा अहिले ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुको छुट्टा-छुट्टै गुटगत भेला भइरहेका छन् । पार्टीमा केन्द्रदेखि, प्रदेश, जिल्ला, नगर तथा वडा तहसम्म प्रभाव परेको छ । यसैबीच तनहुँको शुक्लागण्डकी नगर कमिटीको शुक्रबार छुट्टा-छुट्टै भेला भएका छन् । केन्द्रीय नेताहरुको उपस्थितिमा ओली पक्ष समुहले दुलेगौँडामा र प्रचण्ड-माधव समुहले बेलचौतरामा छुट्टै भेला गरेका छन् । दुबै भेलाले आफुहरुसंग बहुमत भएको र आफुहरु नै वैधानिक भएको दाबी गरेका छन् । एकले अर्को पक्षलाई अवैधानिक भएको संज्ञा समेत दिन पछि परेका छैनन् ।
दुलेगौंडामा भएको ओली समुहको छैठौं विस्तारित बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले संविधानमा मध्यावधि निर्वाचन गर्न पाउने अधिकार छैन भन्नेहरुले लोकतन्त्र नै नबुझेको बताएका छन् ।
‘यो असंवैधानिक हो भनेर भन्नेहरुले कहिल्यै लोकतन्त्र नै बुझेकै छैनन्, संसदीय व्यवस्था के हो? भन्ने कुरा बुझेकै छैन्न, संघीयता भनेको के हो ? बुझेकै छैनन्, गणतन्त्र के हो ? कार्यकारी प्रमुख भनेको के हो ?’ उनले भने, ‘यी कुराहरु नबुझेका मान्छेहरु (प्रचण्ड-माधव)ले भन्ने कुरा हुन् । अहिले यो असंवैधानिक छ भनेर भनिरहँदा हिजोको अभ्यासलाई पनि हेर्नुपर्छ । जुन संसदीय अभ्यास भनिन्छ, त्यो अभ्यासलाई लोकतन्त्रमा संविधान सरह मानिन्छ ।’
मन्त्री गुरुङले संसदीय अभ्यासमा सरकार चलाउन अप्ठ्यारो परेको खण्डमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई सदनबाट विश्वासको मत लिन वा जनताकोमा जान सकिने दुइ वटा विकल्प हुने बताए । उनले भने ‘लोकतन्त्रमा यो हुन्छ, यसमा पनि सबैभन्दा उपयुक्त विश्वासको मत लिने आधार मतदाताकोमै जानु हो ।’
मन्त्री गुरुङले आफुहरुलाई असंवैधानिक कदम भनेर आक्षेप लगाउने प्रचण्ड-माधव समुहले सडकमा आन्दोलन गर्ने, धर्ना बस्ने र जुलुस निकाल्ने जस्ता असंवैधानिक गतिविधि गरेको आरोप लगाए । जति नै ठुलो आवाज गरे पनि संसद पुनःस्थापना हुने कुनै सम्भावना नभएको उनले दाबी गर्दै संसद पुनःस्थापना हुदैन, मध्यावधि निर्वाचनमा जानुको विकल्प छैन ।
दुलेगौंडामा भएको ओली समुहको भेलामा नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खजराज अधिकारी, पार्टी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य रामचन्द्र उपाध्याय, संविधान सभा सदस्य हसिना बेगम, प्रदेश कमिटी सदस्य भक्त रसाइली, जिल्ला कमिटी सदस्य खिमबहादुर कुमाल, युवा संघका पुर्व केन्द्रीय सदस्य देवान गुरूङ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

उक्त भेलामा शुक्लागण्डकी नगर कमिटीबाट अध्यक्ष मुक्ति तिम्सिना, नगर कमिटी कार्यालय सदस्य बलराम घिमिरे र रघुनाथ पौडेल सहभागी थिए । १२ वडा रहेको शुक्लागण्डकी नगरपालिकामा १, ४ र ८ नं. वडा काँग्रेसले जितेको थियो भने बाँकी ९ वटा वडामा नेकपाले जितेको छ । जसमध्ये वडा नं २ का वडाध्यक्ष जगतबहादुर गुरुङ, वडा नं ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, ९ नं का वडाध्यक्ष लोकनारायण श्रेष्ठ ओली पक्षको भेलामा सहभागी थिए ।
त्यस्तै बेलचौतरा तालडाँडा सामुदायिक वनको भवनमा भएको प्रचण्ड-माधव समुहको भेलामा नगर कमिटी कार्यालय सदस्यद्वय परशुराम भण्डारी र रामचन्द्र भण्डारी सहभागी भए । उक्त भेलामा वडा नं ५ का वडाध्यक्ष दीर्घ बहादुर थापा, १० नं वडाध्यक्ष रामचन्द्र भण्डारी, ११ नं का वडाध्यक्ष दलबहादुर थापा, १२ का वडाध्यक्ष मनराज गुरुङ सहभागी थिए । वडा नं ३ वडाध्यक्ष रामकुमार श्रेष्ठ र वडा नं ७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री भने कुनै पनि भेलामा सहभागी भएनन् । तर वडाध्यक्ष श्रेष्ठ र क्षेत्रीले आफुहरुलाई समर्थन गरेको (प्रचण्ड-माधव) समुहका १० नं का वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । उनले नगर कमिटीका ८१ सदस्यमध्ये आफुहरुसंग ५३ सदस्य रहेको दाबी गरे । त्यस्तै नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएको चर्चा चले पनि शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली भने दुबै पक्षको भेलामा उपस्थित भइनन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश साँसद तथा नेकपाकी केन्द्रीय सदस्य आशा कोइरालाले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको बताइन् । उनले संविधान र देश बचाउन संसद पुनःस्थापना हुनै पर्ने बताउँदै जनस्तरबाट समेत दबाब सिर्जना हुन आवश्यक रहेको बताइन् ।
केन्द्रीय सदस्य कोइरालाले केन्द्रदेखि जिल्ला तथा नगरसम्म आफुहरुको पक्षमा नै बहुमत रहेको दाबी गर्दै कार्यकर्तालाई नआत्तिन आग्रह गरिन् । भेलालाई नेकपा प्रदेश कमिटी सदस्यहरु रेखा थापा बस्याल, चित्रबहादुर थापा, मदन आले, जिल्ला कमिटी सचिवालय खुमबहादुर विक राजु लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










