सडक अतिक्रमण हटाउन व्यासको कडाइ, साउन १५ भित्र संरचना नहटाए नगरपालिकाले आफैं हटाउने

दमौली : तनहुँको व्यास नगरपालिकाले वडा नं. २, ३ र ४ का दमौली बजार क्षेत्रमा सडक मापदण्ड उल्लंघन गरी निर्माण गरिएका संरचना तथा सञ्चालन गरिएका व्यवसाय साउन १५ गतेभित्र हटाउन सम्बन्धित घरधनी तथा व्यवसायीलाई अन्तिम निर्देशन दिएको छ । तोकिएको अवधिभित्र अतिक्रमित संरचना नहटाए नगरपालिकाले आफैं हटाउने चेतावनी दिएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको २४२औँ नियमित बैठकले यसअघि जारी गरिएको ३५ दिने सार्वजनिक सूचनाको प्रभावकारी कार्यान्वयन हुन नसकेको निष्कर्ष निकाल्दै सम्बन्धित वडा प्रतिनिधिसँग समन्वय गरी घरधनी तथा व्यवसायीसँग छलफल गरेर साउन १५ गतेभित्र सडक मापदण्डभित्र परेका सबै संरचना हटाउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता सुरेश थापाका अनुसार तोकिएको समयभित्र पनि अतिक्रमण हटाउन अटेर गरे भूमि नियमन तथा घर नक्सा शाखालाई कानुनबमोजिम संरचना हटाउने, छतको पानी सिधै सडकमा खसाल्ने पाइप हटाउने तथा आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाले सडकको सहज आवागमन, पैदल यात्रुको सुरक्षा, बजार व्यवस्थापन तथा दीर्घकालीन सहरी सौन्दर्य कायम गर्न सडक मापदण्ड कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ । सार्वजनिक सडक अतिक्रमणले यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम तथा वर्षायाममा सडक क्षति बढ्दै गएको भन्दै नगरपालिकाले सबै सरोकारवालालाई स्वेच्छाले संरचना हटाएर अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

यसैबीच, कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा गर्दै बाँकी दायित्वलाई प्राथमिकताका साथ भुक्तानी गर्न निर्देशन दिएको छ ।

बैठकले सेवा प्रवाहलाई थप प्रभावकारी र सूचना प्रविधिमैत्री बनाउने, संघीय शिक्षा मन्त्रालयबाट प्राप्त शिक्षक अनुदान कोटा वितरण गर्ने, संशोधित शिक्षा नियमावलीबारे सरोकारवालासँग अन्तरक्रिया गर्ने, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गाधनी प्रमाणपूर्जा वितरण प्रक्रियालाई सहजीकरण गर्न समिति पुनर्गठन गर्ने लगायतका निर्णय पनि गरेको छ ।

त्यस्तै, प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीको पदस्थापनसँगै सेवा निरन्तरता दिन नसकिएका करार कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्ने तथा निधन भएका दुई जना शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker