तनहुँमा कोरोनाका संक्रमितको संख्या ५ सय नाघ्यो, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा सेवा प्रवाह प्रभावित
भञ्ज्याङ न्यूज

कोभिड-१९ कोरोना भाइरसको तोश्रो लहर अर्थात नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसंगै तनहुँमा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार १०९ जना कोरोना संक्रमित थपिएका छन् ।
कार्यालयको विवरण अनुसार तनहुँमा सक्रिय संक्रमितको संख्या ५१३ पुगेको छ । ४२ जनाको पिसिआर र १११ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए ।
यस्तै, पालिका अन्तरगत सबै भन्दा बढि सक्रिय संक्रमित व्यास र शुक्लागण्डकी नगरपालिकामा रहेका छन् । कार्यालयको विवरण अनुसार भानु नगरपालिकामा १३, व्यास नगरपालिकामा १५५, शुक्लागण्डकी नगरपालिकामा १२२ र भिमाद नगरपालिकामा ५८ जना सक्रिय संक्रमित रहेका छन् ।
म्याग्दे गाउँपालिकामा ३६, घिरिङ गाउँपालिकामा १३, ऋषिङ गाउँपालिकामा १८, देवघाट गाउँपालिकामा १, बन्दिपुर गाउँपालिकामा ५८ र आँवुखैरेनी गाउँपालिकामा ३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले र्सार्वजनिक गरेको पछिल्लो विवरणमा देखाइएको छ ।
सक्रिय संक्रमितहरुको संस्थामा जटिल समस्या नदेखिएकाले सबैलाई सुरक्षित रुपमा होमआइसोलेशनमा राखिएको छ । कोरोना संक्रमणका कारण गत वैशाख १ गतेबाट हालसम्म १३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै, जिल्लामा कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत तीब्र पारिएको खोप सुपरभाइजर समेत रहेका अधिकारीले बताए । हालसम्म जिल्लाका २ लाख ४७ हजार ६५९ जनाले जोन्सोन एण्ड जोन्सोन सहितको पहिलो मात्राको खोप लगाएका छन् । जोन्सोन एण्ड जोन्सोन सहित पुरा मात्राको खोप १ लाख ८९ हजार ४०३ जनाले लगाइ सकेका छन् भने कोभिडसिल खोप लगाएकाहरुलाई अहिले तेश्रो अर्थात बोष्टर खोप समेत लगाउने कार्यलाई तीब्रता दिइएको अधिकारीले बताए ।
जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमित भएकाले स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या आएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, जिल्लाको शुक्लागण्डकी नगरपालिका, म्याग्दे र आँवुखैरेनी गाउँपालिकाकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुमा समेत कोरोना संक्रमण देखिएपनि यी पालिकाहरुले अत्यावश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरेका छन् ।