तनहुँमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

टाइफाइड विरुद्धको देशव्यापी कार्यक्रम अन्तरगत तनहुँमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँले व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप लगायर शुक्रबारबाट जिल्लामा खोप अभियान सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले खोप अभियानको शुभारम्भ गर्दै सरसफाईमा लापरवाही गर्दा विभिन्न रोग लाग्ने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । टाइफाइड विरुद्धको खोप अभियानलाई सफल बनाउन सरोकारवालाको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन समेत आग्रह गरे ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै बालबालिकालाई खोप लगाउन प्रेरणा दिनुपर्ने बताउँदै अभियान सफल बनाउन प्रतिबद्ध जनाएका थिए । स्वास्थ्य कार्यालय तनहुँले टाइफाइड रोग विरुद्धको खोप अभियानका लागि जिल्लामा ९९६ जनशक्ति परिचालन गरेको छ ।

दुइ चरणमा सञ्चालन हुने खोप अभियानका लागि दशवटै स्थानीय तहमा ९६८ जनशक्ति परिचालन गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

प्रमुख अधिकारीका अनुसार व्यास नगरपालिकामा एक सय ९७, आँबुखैरेनी गाउँपालिकामा ७१, बन्दिपुर गाउँपालिकामा ५६, देवघाट गाउँपालिकामा ५९, ऋषिङ गाउँपालिकामा ८६, भिमाद नगरपालिकामा ९५, भानु नगरपालिकामा एक सय ३१, शुक्लागण्डकी नगरपालिकामा एक सय ४३, घिरिङ गाउँपालिकामा ६५ र म्याग्दे गाउँपालिकामा ६५ जनशक्ति परिचालन गरिने भएको छ ।

प्रत्येक खोपकेन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला शिक्षिका र एक जना महिला स्वास्थ्यस्वयंसेविका परिचालन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

दशवटै पालिकामा ४६९ खोपकेन्द्र निर्धारण गरिएका छन् । व्यास नगरपालिकामा ८३, आँबुखैरेनी गाउँपालिकामा ४५, बन्दिपुर गाउँपालिकामा १८, देवघाट गाउँपालिकामा ३६, ऋषिङ गाउँपालिकामा ३४, भिमाद नगरपालिकामा ६२, भानु नगरपालिकामा ५४, शुक्लागण्डकी नगरपालिकामा ६६, घिरिङ गाउँपालिकामा ४५ र म्याग्दे गाउँपालिकामा २६ जनशक्ति परिचालन गरिएको छ ।

चैत २५ गतेदेखि २९ गतेसम्म व्यास, आँबुखैरेनी, म्याग्दे, बन्दिपुर र देवघाटमा खोप अभियान सञ्चालन हुनेछ भने चैत ३० देखि वैशाख ३ गतेसम्म ऋषिङ, भिमाद, भानु, घिरिङ र शुक्लागण्डकीमा अभियान सञ्चालन हुनेछ । यसक्रममा जिल्लाका ७३ हजार ३७४ बालबालिकालाई खोप लगाइनेछ ।

अभियानका क्रममा १५ महिनादेखि १५ वर्षउमेर समूहका बालबालिकालाई खोप लगाइनेछ भने पछि यो खोपलाई नियमित खोपको रुपमा सञ्चालन गरिनेछ ।

यसअघि बालबालिकालाई १२ वटा खोप दिइँदै आएकामा अब टाइफाइड विरुद्धको खोप थप गरी १३ वटा खोप प्रदान गरिनेछ । दादुरा रुबेला विरुद्धको दोस्रो खोप लगाउने समयमा १५ महिनाका बालबालिकालाई यो खोपको मात्रा दिइने अधिकारीले जानकारी दिए ।

धेरै विद्यार्थी भएको विद्यालयमै खोपकेन्द्र राखेर खोप लगाइनेछ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकका विद्यालय वा स्वास्थ्यमार्फत खोप लगाउने व्यवस्था मिलाइने कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले बताए ।

विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा पनि खोप लगाउन नहुने कार्यालयले जनाएको छ ।

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भएपनि विस्तारै ठिक हुने स्वास्थ्यकर्मी बताउँछन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र ज्रि्रोमा सेतो लेत लाग्ने टाइफाइडका मुख्य लक्षण हुन् । टाइफाइड ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट र्सदछ ।

यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएतापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ । टाइफाइड जस्ता पानीजन्य संक्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर पिउन, खाना खानुअघि, दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले हात धुन कार्यालयले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker