राजनीतिक संयन्त्रका संयोजक पौडेलकै गृह जिल्ला तनहुँमा गठबन्धन संकटमा
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका बरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा गठबन्धन टुँगोमा पुग्ने सकेको छैन । यो समाचार तयार पार्दसम्म आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच स्थानीय तहको सिटको भागबण्डा नमिल्दा जिल्लामा गठबन्धन जटिल अवस्थामा पुगेको छ ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका ८५ वटा वडासम्मै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच सिटको भागबण्डाको विषयमा सहमति नजुट्दा अब जिल्लामा गठबन्धन टुट्ने हो कि भन्ने चर्चा चल्न थालेको छ ।
गठबन्धन दलहरुबिच सिट भागबण्डाका विषयलाई लिएर पटकपटक बैठक बसेपनि कुनै निष्कर्षनिस्कन नसकेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । उनले भने, ‘गाउँपालिका, नगरपालिका र वडा तहसम्म सिटको भागबण्डाका लागि अहिलेसम्म आठ पटकसम्म बैठक बसिएपनि कुनै निष्कर्षनिस्किएको छैन ।’
‘गठबन्धनमा रहेका दलहरुले आ-आफ्नो पक्षमा माग बढि राखेका कारण बैठक निष्कर्षा पुग्न नसकेको हो’, सचिव खनालले भने, ‘अब केन्द्रबाट के निर्देशन आउँछ सोही अनुसार अगाडि बढ्ने हाम्रो पनि आन्तरिक तयारी छ ।’ अहिलेसम्मको अवस्थालाई हेर्दा नेपाली कांग्रेस र एकीकृत समाजबादी बिच तालमेल हुने संकेत देखिएको छ भने माओवादी केन्द्र एकल ढंगबाट अगाडि बढ्ने संकेत गरेको छ ।
कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको पालिका सहित थप एक पालिका गरी ७ वटा पालिकाको प्रमुख नेतृत्व दाबी गरेको छ । २०७४ को निर्वाचनमा १० पालिकामध्ये नेपाली कांग्रेसका उम्मेद्वारहरुले व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका गरी ५ पालिमा प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा निर्वाचित भएको थियो । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र देवघाट गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसकै उम्मेद्वार विजयी भएका थिए । गठबन्धनमा कांग्रेसले यी पालिका सहित थप भिमाद नगरपालिकाको प्रमुखको सिट पनि पाउनुपर्ने दाबी गर्दै आएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले माग गरेअनुसारका पालिका दिन नसकिने कांग्रेसले बताउँदै आएको छ । कांग्रेस तनहुँले आफूले जितेका पालिकाको नेतृत्व आफैसंग सुरक्षित राखेर अन्यमा छलफल गर्न सकिने पनि बताउँदै आएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको प्रमुख माग गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सह-सचिव अतिन्द्रकेशरी न्यौपानले बताए । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले बन्दिपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बिजयी भएको थियो ।
‘देवघाट, म्याग्दे, ऋषिङ, घिरिङ गाउँपालिका, व्यास, भानु नगरपालिकामा उपप्रमुख पद हामीले दाबी गरेका छौ, बैठकमा सबैले आ-आफ्नै हिसावले दाबेदारी गर्ने कुरा भइरहेको छ’, उनले भने, ‘गठबन्धनमा प्रतिवद्ध रहने सहमति पनि भएको छ तर, व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा पुग्न नसकिदा हामी एकल रुपमा चुनावी मैदानमा उत्रने गरी आन्तरिक तयारी समेत गरेका छौं ।’
यता नेकपा एकीकृत समाजवादीले भिमाद, शुक्लागण्डकी र भानु नगरपालिकाको प्रमुख पद दाबी गर्दै आएको छ । तीन नगरपालिकाको प्रमुख सहित व्यास नगरपालिका, ऋषिङ, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाको उपप्रमुख, उपाध्यक्षको सिटमा पनि समाजवादीले दावी गरेको छ ।
समाजवादीले जिल्लाका १० वटै पालिकाको वडा तहसम्म संरचना भएका ठाउँमा प्रत्येक वडामा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने समेत माग गरेको छ । गठबन्धनमा रहेका दलहरुले जिल्लामै सहमति जुटाउन नसकेपछि केन्द्रबाट के कस्तो निर्देशन आउँछ सोही अनुसार अगाडि बढ्ने प्रतिक्षामा गठबन्धनका दलहरु देखिएका छन् । श्रोतका अनुसार वरिष्ठ नेता पौडेल शनिबार साँझ गृहजिल्ला आई तालमेलको प्रक्रिया टुङ्ग्याउने तयारी पनि भएको छ ।










