तनहुँमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने
भञ्ज्याङ समाचारदाता/दमौली

१८ वर्षभन्दा बढी उमेर पुगेका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । तनहुँका विभिन्न स्थानीय तहले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । केही स्थानीय तहले पनि खोप अभियान सम्पन्न गरिसकेका छन् । बन्दीपुर गाउँपालिकाले १८ वर्षउमेर पूरा भएका सबै नागरिकका लागि मंसिर ८ गते कोभिडसिल्ड र एस्ट्रेजेनेका खोप लगाउने स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराइले जानकारी दिए ।
गाउँपालिका-१ स्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नं ४ स्थित बन्दीपुर अस्पतालबाट खोप अभियान सञ्चालन गर्नेछ । गाउँपालिकाले यसअगाडि लक्षित समूहका नागरिक, ज्येष्ठ नागरिक, विद्यार्थी लगायतलाई खोप लगाइसकेको छ । देवघाट गाउँपालिकाले मंसिर ८ र ९ गते १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाले वडा नं ५ स्थित देवघाट धर्मार्थ अस्पतालमा खोप अभियान सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । कोरोना रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नागरिकलाई जोगाउन चरणबद्ध तरिकाले प्राथमिकता र भ्याक्सिन उपलब्धताका आधारमा खोप अभियान सञ्चालन गरिँदै आएको सुवेदीले बताए ।
व्यास नगरपालिका, भिमाद नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसकेको छ । व्यास नगरपालिकाले छुट भएका १८ वर्षमाथिका नागरिकलाई पुनः खोप लगाउने भएको छ । मङ्सिर ८ र ९ गते विभिन्न स्वास्थ्य संस्थामार्फत यसअघि छुट भएका सबैलाई खोप लगाइने स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिए । नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थामार्फत खोप लगाइनेछ ।
व्यास-१ को चारकुने स्वास्थ्य केन्द्र, व्यास-२ को केराबारी स्वास्थ्य केन्द्र, व्यास-३ को नगरपालिकाको सभाहल, व्यास-४ को वडा कार्यालय, व्यास-५ को पतेनी आधारभूत स्वास्थ्य केन्द्र, व्यास-६ को स्याम्घा स्वास्थ्यचौकी, व्यास-७ को पाथ्रा स्वास्थ्य केन्द्र, व्यास-८ को रिस्ती स्वास्थ्यचौकी, व्यास-९ को गजुरे स्वास्थ्यचौकी, व्यास-१० को कोभिड व्यवस्थापन अस्पताल, व्यास-११ को तनहुँसुर स्वास्थ्यचौकी र व्यास-१२ को घाँसीकुवा स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन गरिने भएको छ ।
तनहुँका हालसम्म ६५ हजार आठ सय ३८ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् भने ८६ हजार दुइ सय १६ ले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीका अनुसार भानुका नौ हजार चार सय ३६, व्यासका १६ हजार सात सय ४६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार पाँच सय २५, म्याग्देका चार हजार छ सय ४५, घिरिङका दुइ हजार सात सय ८८, ऋषिङका तीन हजार सात सय २९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७ र आँबुखैरेनीका चार हजार दुइ सय ७२ ले खोपको दुवै मात्रा लगाएका छन् ।










