एमाले-जोशी समुहको चुनावी सम्पर्क कार्यालय : व्यासलाई सांस्कृतिक शहर बनाउने (उपमेयरको प्रतिवद्धतापत्र सहित)
भञ्ज्याङ न्यूज

वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै व्यासमा नेकपा एमाले र जोशी समुहले संयुक्त सम्पर्क कार्यालयको स्थापना गरेका छन् । व्यास-४ स्थित जलदेवी टोल र व्यास-१ हाइस्कुलटारमा विहीबार सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।
व्यास-४ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नगरपालिकामा नेतृत्व परिर्वतनको आवश्यकता रहेको बताए । उनले भने, ‘हालको नेतृत्वले भ्रष्टचार, अनियमितता र कुशुसानलाई प्राथमिकता दिइएको हुँदा जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् ।’
नेकपा एमालेका केन्द्रीय सल्लाहाकार एकबहादुर रानाले अनियमितता र बेथितीको अन्त्यको लागि पनि एमाले-जोशी समुहको प्यानललाई विजयी गराउनुपर्ने बताए । कार्यक्रमा एमाले तनहुँका उपसचिव एवं नगर इञ्चार्ज प्रदिपराज अधिकारीले असक्षम नेतृत्वले नगरपालिकाको विकास हुन नसकेको जिकिर गरे ।
व्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीले खराब नेतृत्वले गर्दा नगरपालिकाको बेरुजु बढ्दो रहेको बताए । धेरै भाषाण भन्दा काम गरेर देखाउने महिला रहेको उपमेयरको उम्मेदवार बसुन्धरा घर्तीले बताइन् ।
व्यासलाई सांस्कृतिक शहर बनाउने उपाध्यक्षका उम्मेदवार घर्तीको प्रतिवद्धता
यस्तै, व्यास नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसको जोशी समूहकी उपमेयरकी साझा उम्मेदवार बसुन्धरा र्घर्तीले व्यास नगरपालिकालाई सांस्कृतिक शहर बनाउने प्रतिबद्धता जनाएकी छन्। संयुक्त प्यानलबाट उपमेयरको उम्मेदवार बनेपछि चुनावी अभियान सुरु गर्दै उपमेयर र्घर्तीले आदिवासी जनजातिहरुको बाहुल्यता रहेको व्यास नगरपालिकालाई नमुना सांस्कृतिक शहर बनाउने प्रतिवद्धता जनाएकी हुन ।
आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्ष समेत रहेकी घर्तीले आफू उपमेयरमा निर्वाचित भएपछि मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने बताएकी छन् । स्थानीय स्तरका लोक संस्कृति र कलाको संरक्षण गर्ने तथा जनजातिहरुको संस्कृति झल्किने गरि देशकै नमुना संग्रहालय बनाउने पनि उनले प्रतिबद्धता जनाइन् ।
यस्तै, महर्षि वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउन दमौलीमा वेदव्यास विश्वविद्यालयको स्थापनाको लागि पहल गर्ने तथा यस क्षेत्रलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने घर्तीले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेकी छन् ।
उनले छाब्दी बाराही, तनहुँ कालिका, क्यामिन कालिका, राजापानी महादेव मन्दिर, व्यास-३ को गुरुङ संग्रहालयको संरक्षण, व्यास-४ र ९ मा रहेको मुस्लिम समुदायको मस्जिदको उचित संरक्षण गर्ने योजना समेत प्रतिवद्धता पत्रमा समेटेकी छन् ।
यस्तै व्यास नगरपालिकाको सबैभन्दा उच्च स्थलमा रहेको ऐतिहाँसिक तनहुँसुर दरबार, कुलुङकोट, गलेखामकोट, मानुङकोट, क्यामिनकोट, कालिका जस्ता धार्मिक गन्तव्यको प्रबर्द्धन गरी त्यसको प्रचार प्रसार गरी हजारौं पर्यटक भित्र्याउने कार्यक्रम सञ्चालन गर्ने घर्तीको प्रतिवद्धता रहेको छ ।
व्यास-४ को एमालेबाट मनबहादुर गुरुङ उम्मेदवार रहेका छन। त्यस्तै सदस्यमा मन्जु अधिकारी, सुनिता बसेल, सरोज बस्नेत र जोशी समुहबाट हरिशरण पण्डित उमेदवार रहेका छन ।
व्यास-१ हाइस्कुलटारको सम्पर्क कार्यालयको उद्घाटन पार्टीको प्रदेश सदस्य अमर भण्डारीले गरेका थिए । व्यास-१ बाट नेकपा एमाले र स्वतन्त्र उम्मेदवार अध्यक्ष चुडामणि दाहाल, सदस्यमा लिला दरै, बिमला नेपाली, दुर्गा बहादुर लौडारी, सरु कुमाल उम्मेदवार रहेका छन् ।










